काठमाडौं । स्थानीय तहको चुनाव लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
साहले नेपाली कांग्रेसबाट टिकट पाउने आश्वासन पाएपछि गत १० फागुनमा एसएसपीबाट राजीनामा दिएका थिए । उनी कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदका आकांक्षी हुन् ।
उनको नाम सिफारिसमा परे पनि अन्तिम समयमा योगेन्द्र यादवले उछिनेका छन् ।
साह स्थानीय तहको बेथिति हटाउन आफूले उम्मेदवारी दिन लागेको र जनताको पनि साथ रहेको बताउँछन् । ‘यो क्षेत्र हाम्रो पुर्ख्यौली थलो हो, त्यसैले मलाई जनताको साथ छ,’ उनले पर्दाफासलाई भने, ‘५ वर्षसम्म जनप्रतिनिधिले पालिका चलाए पनि जनताले विकासको प्रत्याभूति गर्न पाएनन्, त्यसैले मैले राजनीतिमा आउने निर्णय गरेको हुँ ।’
२०४९ सालमा इन्स्पेक्टरबाट प्रहरी सेवामा छिरेका साह २९ वर्ष संगठनमा बिताएर बिदा भएका हुन् । यद्यपि, उनी बढुवामा भने आफ्नै ब्याचका भन्दा पछि पर्दै आएका थिए । तर, साहले प्रहरी सेवाका क्रममा संगठनप्रति कुनै असन्तुष्टि नभई राजनीति गर्ने उद्देश्यकै कारण राजीनामा दिएको बताएका थिए ।


