आईजीमा सिंह , अर्याल र जोशी अगाडि

काठमाडौं । बैशाख १९ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरी बल दुवैको नेतृत्व परिवर्तन हुँदैछ । सशस्त्र प्रहरीमा भावी नेतृत्वको विषय प्रष्ट भइसकेको छ भने नेपाल प्रहरीमा चार एआइजीबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ ।

सशस्त्रमा राजु अर्यालको एआइजीमा बढुवा सिफारिससँगै उनी भावी महानिरीक्षकमा पक्का भएका हुन् । सशस्त्रमा एआइजीमध्येबाट आइजिपी हुने प्रावधान छ । १९ वैशाखमा एक्लो प्रतिस्पर्धी हुने भएकाले कुनै चलखेल हुने अवस्था छैन ।

नेपाल प्रहरीमा भने आइजिपी फेरिने दिन नजिकिदै गर्दा दौडधुप बढेको छ । विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्रसिंह धानुकबीच तिव्र प्रतिस्पर्धा छ । उनीहरुमध्ये पोखरेल र थापा सिनियर भएपनि उनीहरुलाई तत्कालीन केपी शर्मा ओली सरकारले विशेष दरबन्दी थपेर बढुवा गरेको थियो ।

सिंह र धानुक गत महिना बढुवा भएका हुन् । चारै जना एउटै ब्याचका अधिकृत हुन् । तत्कालीन ओली सरकारले त्यतिबेला स्थानीय, प्रदेश र संघको निर्वाचनलाई ध्यानमा राखेर पोखरेललाई आइजी बनाउने रणनीति बनाएपनि अहिले परिस्थिति फेरिएको छ । तत्कालीन ओलि सरकारले थप गरेको दरबन्दीमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।

पोखरेललाई एआइजी बनाएपछि प्रहरीमा व्यापक असन्तुष्टि छाएको थियो । ओलीको सत्ता बहिर्गमनसँगै पोखरेलको सपना पनि चकनाचुर भएको छ । आइजी नहुने भएपछि उनी नवराज सिलवालको नजिर बोकेर सर्वोच्च जाने तयारीमा छन् । बालुवाटार स्रोतका अनुसार नेपाल प्रहरीको आइजीमा सिंह र राष्ट्रिय अनुसन्धान विभागका जोशीको सम्भावना छ ।

चुनावको मुखमा चारै जना काममा भन्दा शक्तिकेन्द्रमा दौडधुपमा व्यस्त छन् । सरकारले छिटो निर्णय गर्न नसक्दा निर्वाचनको मुखमा आइजी नियुक्तिमा राजनीतिकरण हुने जोखिम छ ।

उता, राष्ट्रिय अनुसन्धान विभागमा पनि नयाँ नेतृत्वका लागि यतिबेला चर्काे प्रतिस्पर्धा छ । हालका एआइजी यादव रेग्मीले ११ वैशाखमा अवकाश पाउने भएपछि उनको पदमा बढुवा लागि डिआइजीबीच दौडधुप छ । हाल जो एआइजी हुन्छ वैशाखमा उही प्रमुख हुने भएकाले प्रतिस्पर्धा अस्वस्थ बन्न पुगेको छ ।

एआइजीमा बढुवाका लागि डिआइजीहरू हुतराज थापा, टेकेन्द्र कार्की, हरिहर पौडेल, ओम जोशी, कुलदिप थापा, सुनिल ढकाललगायत प्रतिस्पर्धामा छन् । डिआइजी जोशी आफु सुदुरपश्चिमको भएकाले आफुलाई नै बनाउनुपर्ने भन्दै दैनिक जसो सुदुरपश्चिमका नेताहरूलाई भेटेर लबिङ गर्दै आएका छन् । तर, कार्यक्षमतामा उनी कमजोर मानिन्छन् ।

हालका गुप्तचर प्रमुख यदुलाल खरेलले भदौको अन्तिममा अवकाश पाउनेछन् । त्यो अवस्थामा अहिलेको पाँच डिआइजीमध्ये एक प्रमुख हुनेछन् । गुप्तचरमा एआइजीको एक दरबन्दी थप्ने चलखेल भएपनि निर्वाचन आचारसंहिता लागिसकेकाले एकजना मात्र बढुवा हुने भएका छन् ।

सशस्त्र प्रहरीमा पनि एआइजी बढुवामा प्रतिस्पर्धा हुने देखिएको छ । १९ वैशाखपछि सशस्त्रमा एआइजीका दुई दरबन्दी रिक्त हुँदैछ । जसमा तीन डिआइजीबीच प्रतिस्पर्धा छ । नारायदत्त पौडेल बढुवामा पर्ने सम्भावना धेरै छ । अर्काे एक पदमा भने चन्द्रप्रकाश गौतम र बंशी दाहालबीच प्रतिस्पर्धा देखिएको छ । दाहाल डिआइजी बढुवामा पछि परेको भएपनि राजनीतिक नेतृत्वसँग उनको राम्रो सम्बन्ध छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..