सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को?

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् ।

सशस्त्र प्रहरीका १०औं आईजीपी शैलेन्द्र खनाल अनिवार्य अवकाशमा गएसँगै ११औं आइजीपीका रूपमा पुष्पराम केसीले हाल जिम्मेवारी सम्हालिरहेका छन् । तर उनीसमेत १९ वैशाखमा अनिवार्य अवकाशबाट घर जाँदै छन् ।

सशस्त्र प्रहरीमा आइतबार मात्रै एआईजीका लागि बढुवा सिफारिसमा परेका राजु अर्याललाई नयाँ आईजीपी बन्न बाटो खुलेको छ । अबको १३ दिनपछि अर्याल सशस्त्र प्रहरीको १२औं आईजीपी बन्नेछन् ।

अर्याल सशस्त्रमा कार्यरत डीआईजीमध्ये वरिष्ठ हुन् । एआईजी बढुवाका लागि डीआईजीहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीधर दाहालले आवश्यक कागजात बुझाएर दाबी पेस गरे पनि सरकारले वरिष्ठताक्रममा अघि रहेका अर्यालको नाम एआईजीका लागि सिफारिस गरिसकेको छ । सरकारको सिफारिसमा परेका अर्याल नै अबको चुनावी नेतृत्व सम्हाल्ने गरी सशस्त्र प्रहरीको आईजीपी बन्ने पक्का भएको हो ।

नेपाल प्रहरीमा पनि १८ वैशाखबाटै हालका आईजीपी शैलेश थापा क्षत्री ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि नेपाल प्रहरीमा पनि नयाँ आईजीपीको इन्ट्री हुनेछ ।

भावी आइजीपीका लागि हालका एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिष्पर्धी हुन् । चारैजना एउटै ब्याचका हुन् ।

चारैजनाले आफूभन्दा अघिल्ला ब्याचका प्रहरी अधिकृतहरुलाई उछिनेर डिआइजी बनेका थिए । एआइजी बन्दा पनि अघिल्ला ब्याचका डिआइजीहरुलाई पनि उछिनेका थिए ।

सबैभन्दा पहिले विश्वराज पोखरेल, त्यसपछि सहकुल थापा एआइजीमा बढुवा भए । पछिल्लोपटक धीरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भए । चारैजना एआइजीको दरबन्दी बढाएर बढुवा भएका हुन् ।

यसअघि तीन एआइजीको दरबन्दी भएकोमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एउटा एआइजीको दरबन्दी बढाएर विश्वराज पोखरेललाई बढुवा गरिएको थियो । पोखरेल आइजीपीका लागि प्रतिष्पर्धाविहिन मानिएका थिए । तर, ओलीकै पालामा एआइजीको अर्को दरबन्दी सृजना गरी सहकुल थापालाई बढुवा गरिएको थियो ।

पोखरेल र थापाबीच आइजीपीको प्रतिष्पर्धा हुने देखिएको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि तीन एआइजीको दरबन्दी थपेर धीरजप्रताप सिंह, रवीन्द्र धानुकका अलावा आइजीपी शैलेश थापाका ब्याची वसन्त पन्तलाई बढुवा गरिएको थियो । त्यसपछि सिंह र धानुक पनि प्रतिष्पर्धामा देखिए ।

हालका एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र वसन्त पन्त १९ वैशाखमा नै सेवानिवृत्त हुनेछन् । उनीहरु पछि वरियतामा रहेका चारजना एआइजीहरुबीच आइजीपीको दौड तिव्र भइसकेको छ ।

विश्वराज पोखरेल


नेपाल प्रहरीको आइजीपीका प्रतिष्पर्धी विश्वराज पोखरेल सेलिब्रिटी प्रहरीका रुपमा परिचित छन् । उनले डिआइजी बन्दा आफ्नो मात्र नभई अघिल्लो ब्याची प्रहरी अधिकृतहरुलाई पनि उछिनेर आइजीपीको मुख्य प्रतिष्पर्धीका रुपमा उभ्याएका थिए । त्यसपछि एआइजी बन्दा पनि दरबन्दी नै सृजना गरेर अगाडि बढ्न सकेका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पोखरेलले छलाङ मारेका थिए । उनको स्थायी घर पूर्व क्षेत्र हुनुले पनि फाइदा लिन सके । एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग उनको निकटताले पनि बढुवामा महत्वपूर्ण सफलताहरु हासिल गरे । पोखरेलले हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की एआइजीमा बढुवा हुँदा नै छलाङ मार्न लागेका थिए । त्यो सम्भव नभएपछि एआइजीको दरबन्दी नै खडा गरेर पोखरेल एआइजी हुन सके ।
एसएसपी हुँदा महानगरीय प्रहरी परिसर काठमाडौंमा बसेका पोखरेलले महत्वपूर्ण ठाउँमा कमाण्ड सम्हालेका थिए ।

सहकुल थापा


नेपाल प्रहरीमा सालिन प्रहरी अधिकृतका रुपमा परिचित सहकुल थापाको स्थायी घर भक्तपुर हो । उनलाई त्यस क्षेत्रमा तबलाबादकका रुपमा पनि चिन्ने गरेका छन् ।

आफ्नो ब्याचमा एसपी हुँदा पछि रहेका उनले एसएसपी हुँदा छलाङ मार्न सकेका थिए । अपराध अनुसन्धान महाशाखामा रहेर चर्चामा आउने कार्यहरु गरेका थिए । डिआइजी हुँदा सीआइबीमा बसेका थापा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू र आफ्ना ब्याचीका प्रतिष्पर्धीलाई उछिनेर अगाडि बढ्न सके । डिआइजी बढुवामा पनि उनले छलाङ मारे ।

एआइजीको दरबन्दी नै खडा गरेर उनलाई बढुवा गरिएको थियो । त्यसपछि आइजीपीमा विश्वराज पोखरेलका लागि उनी नै चुनौती बन्न सके । थापाले विगतमा जिल्ला प्रहरी कार्यालय चितवनमा बसेर पनि काम गरेका थिए । उनी आइजीपीको दौडमा सक्रिय देखिएका छन् ।

धीरजप्रताप सिंह


सुदूरपश्चिम बझाङ स्थायी घर भएका धीरजप्रताप सिंह आइजीपीका मुख्य प्रतिष्पर्धी देखिएका छन् । उनी गत वर्षको चैत्रमा मात्र बढुवा भएका हुन् । एआइजीको तीनवटा दरबन्दी थपेर उनलाई बढुवा दिइएको हो ।

सिंहले एसपी हुँदा सम्म आफ्नो ब्याचीमा अगाडि रहने सफलता हासिल गरेका थिए । तर, एसएसपी र डिआइजी बढुवा हुँदा पछि परे । विशेषगरी, केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सिंह पेलाईमा परे । एसएसपी हुँदा अपराध अनुसन्धान महाशाखाको कमाण्ड सम्हाले । त्यहाँ चर्चामा आउने कामहरु गरे ।

डिआइजी बढुवापछि सिंह प्रदेश नम्बर २ को कमाण्ड सम्हाल्न पुगे । जटिल मानिएको उक्त क्षेत्रमा उनको कमाण्डले चर्चा बटुल्यो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनले सीआइबीको कमाण्ड सम्हाले । सीआइबीमा रहेर ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा महत्वपूर्ण सफलताहरु हासिल गरे । यसले उनलाई चर्चामा पुर्यायो ।

एआइजी बढुवापछि पनि सिंह सीआइबीकै निर्देशक छन् । सरकारले सीआइबीमा डिआइजीको कमाण्ड रहने व्यवस्था गरेकोमा एआइजीको दरबन्दी बढाएपछि एआइजीको कमाण्ड रहने व्यवस्था गरेबाट उनी त्यहाँ रहेका हुन् । सिंहले १ वैशाखमा राष्ट्रपतिबाट पदक पनि प्राप्त गरेका छन् । उनी आइजीपीका प्रतिष्पर्धीमध्येबाट पदक पाउने एकमात्र एआइजी हुन् । यसले पनि उनको कार्यक्षमता मूल्याकनमा अंक थपिने देखिएको छ ।

धीरज प्रताप सिंह सुदूरपश्चिमको हुनुले पनि आइजीपी बन्ने सम्भावना बलियो रहेको विश्लेषण हुन थालेको छ । प्रधानमन्त्री देउवा सुदूरपश्चिमको हुनु र उनले आफ्नो क्षेत्रलाई निकै प्राथमिकता दिने गरेको इतिहासबाट पनि सिंहको सम्भावना बलियो बनेको हो ।

रवीन्द्र धानुक


रवीन्द्र धानुक पनि सुदूरपश्चिमकै स्थायी बासिन्दा हुन् । प्रहरीभित्र कडा स्वभावका अधिकृतका रुपमा उनको परिचय छ । आफ्नो ब्याचका एआइजीमध्ये उनी चौंथो वरियतामा छन् । धानुक हालै तीन एआइजीको दरबन्दी थपिएर भएको बढुवामा तेस्रो नम्बरमा परेका हुन् ।

धानुक वर्तमान अर्थमन्त्री जर्नादन शर्मानिकट मानिन्छन् । उनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निकटता छ । धानुकले महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुर दुवैको कमाण्ड सम्हालेका छन् । डिआइजी हुँदा प्रदेशको कमाण्ड समेत सम्हाले ।

धानुक पनि आइजीपीको दौडमा छन् । तर, उनी चौंथो नम्बरमा भएकाले सजिलो छैन । तैपनि, उनले आशा मारेका छैनन् ।

को बन्ला आइजीपी ?


चार एआइजी मध्येबाट एकजना आइजीपी बन्ने निश्चित नै छ । वरियतामा पहिलो रहेकाले विश्वराज पोखरेलको दाबी देखिएको छ । प्रहरी बढुवासम्बन्धी नियमावलीमा वरिष्ठतासँगै कार्यक्षमता पनि उल्लेख छ ।

वरिष्ठताका आधारमा मात्र नभई कार्यक्षमताका आधारमा पनि बढुवा गरिएको विगतको अभ्यास छ । यसकारण पनि पोखरेललाई चुनौती बढेको छ । त्यसमाथि विगतमा आफ्नो ब्याचीका एक्ला एआइजी उनलाई तीनवटा प्रतिष्पर्धी थपिएको छ ।

विश्वराज पोखरेल र सहकुल थापाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बढुवामा छलाङ मारेका थिए । एमाले नेतृत्वको सरकार हुँदा बढुवा र आकर्षक ठाउँमा सरुवा पाउनुका अलावा एमालेका कतिपय प्रभावशाली नेताहरुसँगको निकटता नै अबको प्रतिष्पर्धामा असर पर्ने देखिएको छ । तैपनि, उनीहरु सत्तारुढ दलका प्रभावशाली नेता हुँदै बालुवाटार रिझाउने दौडमा छन् ।

प्रधानमन्त्री देउवाले धीरजप्रताप सिंहलाई एआइजीको दरबन्दी बढाएर बढुवा गराउनुले भने पोखरेल र थापा दुवैमाथि चुनौती थपिदिएको छ । सिंहले बालुवाटारबाट ग्रीन सिग्नल पाइसकेको चर्चा पनि चलेको छ । सुदूरपश्चिमको बझाङ स्थायी घर हुनु, ओली प्रधानमन्त्री हुँदा पेलाईमा पर्नु र देउवाको कार्यकालमा महत्वपूर्ण अवसर र बढुवा पनि पाउनुले सिंहको सम्भावना बलियो बन्दै गएको छ । वरियतामा तीन नम्बरमा रहेपनि सिंहले हालै राष्ट्रपतिबाट पदक प्राप्त गरेबाट कार्यक्षमता मूल्यांकनमा छलाङ मार्न सक्ने बुझिएको छ ।

अबको दुई हप्ता आइजीपीको प्रतिष्पर्धा तिव्र बन्दै जाँदा पोखरेल, थापा र सिंहको दौड पनि बढेको बुझिएको छ । अब हुने आइजीपी चुनावमा पनि प्रहरीको कमाण्डमा हुने हुँदा देउवाले निकै चासो लिएको बुझिएको छ । दौडमा सबैभन्दा अगाडि धीरजप्रताप सिंह देखिइसकेका छन् । वरियतामा तेस्रो रहेपनि दौडमा अगाडि देखिन थालेका उनलाई विश्वराज पोखरेल र सहकुल थापाले उछिन्ने गरी राजनीतिक नेतृत्वलाई रिझाउने प्रयास गरिरहेका छन् ।

जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सार्मथ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था प्रहरी नियमावलीमा गरिएको छ ।

नियमावलीमा जेष्ठतालाई अगाडि राखिएपनि कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन, नेतृत्व क्षमता, प्रहरी परिचालन र प्रोत्साहनलगायतका विषय पनि समावेश छन् । यस आधारमा वरियतामा पहिलो नम्बरमा भएका नै आइजीपी हुन्छन् भन्ने छैन। विगतमा नवराज सिलवाल वरियतामा अगाडि भएपनि प्रकाश अर्यालले बाजी मारेका थिए । वरियतामा पछाडि रहेका प्रहरीहरुले बाजी मारेको इतिहासहरु धेरै छन् । देउवा प्रधानमन्त्री हुँदा त्यस्ता धेरै घटनाहरु भएका थिए । यसपटक पनि त्यही सम्भावना देखिएकाले धीरजप्रताप सिंहको सम्भावना बलियो बन्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..