सुखड । कैलालीको गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी नगर कमिटीको पूर्ण बैठकले स्थानीय निर्वाचनमा गौरीगंगामा गठबन्धन नगर्ने निर्णय गरेको हो।
कांग्रेस एक्लै बलियो भएकोले चुनावी गठबन्धन नगर्ने निर्णय भएको पार्टीले जनाएको छ। नगर सभापति पहल विक्रम चन्द र सचिव हेमन्तराज जोशीले एक विज्ञप्ति सार्वजनिक गर्दे वैशाख ३० मा हुने निर्वाचनमा गठबन्धन गर्दा पदीय भागबन्डा र कांग्रेसमा प्रतिकुल असर पर्ने तथा आम कार्यकर्तामा झन् निरास छाउँदै गएको सिंगो नगरमा कांग्रेस एकजुट, एकतृत भई गठबन्धनको आवश्यकता नरहेको उल्लेख गरेको छ ।
यस्तै, एक्लै चुनाव प्रतिस्पर्धामा जाँदा सम्मानजनक सफलता प्राप्त हुने हुँदा नगरको कुनै पनि वडा नगरमा कुनै प्रकारका गठबन्धन स्वीकार्य नहुने बताएको छ। सोमबार मात्र जिल्लाको घोडाघोडीमा गठबन्धन नगर्ने निर्णय गरेको थियो।
कांग्रेस गौरीगंगा नगर समितिले जिल्ला, प्रदेश र केन्द्रलाई पत्रसमेत पठाएको छ।


