काठमाडौं । भद्रपुर उडानमा जहाजभित्रै चुरोट सल्काउने एक युवकलाई पक्राउ गरिएको छ। काठमाडौंबाट शुक्रबार साँझ भद्रपुर गएको एउटा जहाजमा उडानकै क्रममा यात्रुले चुरोट सल्काएको पाएपछि पक्राउ गरिएको हो।
चुरोट सल्काउने क्रममा लाइटर खसेर पाइन्टमा आगोको झिल्कोले भेटेपछि उनले चुरोट सल्काएको थाहा भएको थियो। विमान अवतरण लगत्तै ती यात्रुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन्।
भद्रपुर विमानस्थलले घटनाको पुष्टि गरेको छ। विमानस्थल प्रमुख मुराहरि पौडेलका अनुसार बुद्ध एयरको नाइन एन–एएनएफ कलसाइन ९५७ उडानमा सवार यात्रुलाई पक्राउ गरिएको हो।
उनीसँगै सवार दुई जना साथीले त्रिभुवन विमानस्थलको स्मोकिङ जोनमा प्रयोग गरिएको लाइटर भूलवस जहाजमा लिएर पुगेको सुरक्षा अधिकारीलाई बताएका छन्। हवाई यातायात सेवा लिने क्रममा सलाइ, लाइटर लगायतका वस्तु बोक्न पाइदैन।


