बुटवल । बुटवल ११ मा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको दोस्रो अधिवेशनमा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ ।अध्यक्षमा जितबहादुर मल्ल बिजयी भए । उनले एमाले उम्मेदवार बीरबहादुर कुँवरको प्यानललाई पराजित गरे । करिब १५ सय घरधुरी सदस्य रहेको सहकारीको चुनावमा १०३२ मत खसेकोमा कांग्रेसका मल्लले ५१४ मत ल्याएर विजयी हुँदा एमालेका कुँवरले ४७१ मत प्राप्त गरे ।
उपाध्यक्षमा राजकुमार तेली र कैलाश खड्गीले समान ४८२ मत ल्याए । सचिवमा मल्ल प्यानलकै गोपाल केसी ४८३ मतसहित विजयी हुँदा एमालेका घनश्याम पाण्डेले ४७८ मत पाए । कोषाध्यक्षमा मल्ल प्यानलका नारायण सारु ४९९ मतसहित विजयी हुँदा एमालेका कुलबहादुर रानाले ४६९ मत पाए ।
९ जना कार्यसमिति सदस्य र लेखा समिति संयोजक र सदस्य सहित तीन जना पनि मल्ल प्यानलकै उम्मेदवारहरु विजयी भएका निर्वाचन समितिका प्रमुख अधिवक्ता महेन्द्र पाण्डेले नागरिक अनलाइनलाई जानकारी दिए । आइतबार राति सम्पन्न मतगणनामा ९ मत बदर भएको उनले बताए ।
१७ हजार मतदाता रहेको यो वडालाई नेकपा एमालेले आफ्नो गढ दावी गर्दै आएको थियो । विजयी उम्मेदबारहरुले आज बुटवलमा बिजयी र्याली समेत निकालेका थिए ।


