सर्लाही । जनता समाजवादी पार्टी, नेपालको ब्रह्मपुरि गाउँपालिका समितिद्वारा शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका शिर्ष नेता एवं संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले, नजिकिदै गरेको स्थानीय तहको चुनाव जसपाको लागि ऎतिहासिक अवसर भएको बताएका छन् ।
मन्त्री यादवले, स्थानीय चुनाव हुन थोरै समय बाकी रहेकोले चुनावमा विजयी प्राप्तिका लागि स्थानीय तहका नेता तथा कार्यकर्ताहरु तम्तयार हुन निर्देश दिदै उनले भने, यो ऎतिहासिक अवसर र परिक्षा पनि हो, तसर्थ “आफ्नो गाउँ आफै जिताउ, जसपालाई जिताउ” भन्ने मुल नाराका साथ चुनावमा तत्काल होमिन स्थानीय नेता तथा कार्यकर्ताहरु दिशानिर्देश समेत उनले दिएका छन् ।
विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जसपामा प्रवेश गरेका नवप्रवेशि नेता तथा कार्यकर्ताहरुलाई बधाई दिदै मन्त्री यादवले भने, अब एक ढिका भएर चुनावी संघर्ष र लडाइँको मैदानमा जनता समाजवादी पार्टीको बफादार सिपाही भएर उत्रिनुपर्ने समय आएको उनले बताए ।
वडा स्तरमा चुनाव जित्ने उम्मेदवारको तय वडा समितिले नै गर्नुपर्ने बताउदै उनले भने, चुनावी जितको सुरुवात वडा स्तरबाट हुने र क्रमशः अध्यक्ष-उपाध्यक्ष, मेयर र उपमेयर समेत विजयी हुने उनले उद्घोष गरे ।
जनता समाजवादी पार्टी गाउँ, नगर र टोलटोलमा रहेको र त्यसको रक्षा जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरुले गर्दै आएको बताउदै उनले भने, जसपाका नेता तथा कार्यकर्ताहरु दिनरात जनताको सुखदुःखमा साथ दिदै आएको र स्थानीय नेता तथा कार्यकर्ताको विश्वास, भरोसा, व्यवहार, लगनशीलता र एकताको आधारमा जसपाले यस स्थानीय तहको चुनावमा अधिक भन्दा अधिक सिटमा भारी बहुमतका साथ चुनाव जित्ने उनले ठोकुवा गरे ।
सर्लाहीमा भएका सम्पुर्ण दलहरूलाई जनता समाजवादी पार्टीसंग भय र चिन्ता रहेको समेत उनले बताए । जनता समाजवादी पार्टी नै संघीयता ल्याउने पहिलो पार्टी रहेको दावी समेत उनले गरे । उनले नेपालमा व्याप्त वर्गीय विभेदलाई जरैदेखि समाप्त पार्नका निम्ति जसपाको नेतृत्व नै आवश्यक भएको बताए ।
महिला सहभागीतालाई समेत नेतृत्वमा ल्याउनु आजको आवश्यकता भएको बताउदै उनले भने, जसपाले नेतृत्वमा महिलालाई समानरुपले समेट्न प्रतिबद्ध रहेको उनले जनाए ।
अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका शहिदको सपना साकारका निम्ति मधेस प्रदेशको निर्माण भएको र सो निर्माण प्रक्रियामा समेत जसपाको सबभन्दा ठुलो बलिदान र त्याग रहेको उनले बताएका छन् । मधेस प्रदेशमा जसपाको सरकार भएकै कारण शहिदको सपना साकार भएको उनले ठोकुवा गरे ।
पार्टी प्रवेश कार्यक्रमको मुख्य केन्द्रविन्दु नवप्रवेशि मनोज साह रहेका थिए । उनि ब्रहम्पुरि गाउँपालिकाका अध्यक्ष विनोद साहका सहोदर दाइ हुन् । अध्यक्ष साह तत्कालीन राजपाबाट विजयी भएतापनि अहिले उनि महन्थ ठाकुर नेतृत्वको लोसपामा छन् ।
नवप्रवेशि नेता तथा कार्यकर्ताहरुलाई मन्त्री यादवले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
कृषि मन्त्री यादवको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमको अध्यक्षता सतिस झाले गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य द्वय हृदय नारायण राय र रामकैलाश राय, प्रदेश समिति सदस्य नुरुल हक मिकरानि, जिल्ला अध्यक्ष बिरेन्द्र राय, जिल्ला सचीव राम बिनय राय, गाउँ समिति अध्यक्ष नागेन्द्र यादव, युवा नेता जितेन्द्र साह, शुनिल साह, राजु साह, दामोदर साह, रामदुलार राय, कृष्ण कुमार यादव, राम छबिला साह, राम पदारथ साह लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।


