रौतहट । एमालेविरुद्ध प्रहरी प्रशासन नियोजित ढंगले लागेको भन्दै नेकपा (एमाले) रौतहटले विरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार र गठबन्धनका राजनीतिक दलको इशारामा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक एमालेका नेता कार्यकर्तालाई अनावश्यक दुःख दिने, झुटा मुद्धामा फसाउन लागेको भन्दै नेकपा एमाले आन्दोलित भएको हो । रौतहट जिल्ला पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले विशाल प्रदर्शन गरेको छ ।
ठूलो संख्यामा रहेका एमालेका नेता, कार्यकर्ताको जुलुसले जिल्लाको मध्य भाग गरुडामा प्रदर्शन गरेको थियो । एमालेको पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली श्रीराम सुगर मिल हुँदै गरुडा मेनचोकमा पुगेर सकिएको सो पार्टीका जिल्ला उपसचिव पलट चौधरीले जानकारी दिए । गठबन्धन सरकारको इशारामा रौतहटको एसपी र सिडियोको नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेकोले एमालेले जिल्लाको मध्यभाग गरुडामा मङ्गलबार हजारौँको संख्यामा प्रदर्शन गरेको हो । सिडियो र एसपीको राजिनामा माग्दै अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीसहितका नेता कार्यकर्ता उपस्थित थिए ।
प्रदर्शनमा उत्रिएकाहरुले प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही र प्रहरी उपरीक्षक विनोद घिमिरेविरुद्ध चर्का नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरुले “निर्दोषलाई फसाउन पाइदैन, पक्षपाती सरकार÷प्रशासन चाहिदैन, पक्षपाती सीडीओलाई बर्खास्त गर, निष्पक्ष निर्वाचनको वातावरण तयार गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दाबाद, षड्यन्त्रकारी सिडियोलाई कारवाही गर, हर्षाहा सवारी दुर्घाटनाको उच्चस्तरीय छानबिन गर, मुद्दाको वास्तविकता लुकाउनेहरुलाई कारवाही गर, हर्षाहा सवारी दुर्घटनाको वास्तविक दोषीलाई करवाही गर, राजनीतिक प्रतिशोधले निर्दोषलाई फँसाउने षड्यन्त्र बन्द गर, सवारी दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर, लासमाथि राजनीतिक गर्ने घृणित कार्य बन्द गर“ जस्ता नाराहरु लगाएका राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य एवम् पार्टी जिल्ला कमिटी सदस्य निवेश यादवले जानकारी दिए ।
गठबन्धन सरकारको इशारामा रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको नेतृत्वमा एमालेका कार्यकर्ताहरु माथि झुठा मुद्दा लगाउने, गाली बेइज्जती गर्ने तथा बद्नाम गर्ने, अनावश्यक दुःख दिने कार्य भइरहेकोले एमाले विरोधमा उत्रिएको एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह ‘अमर’ बताए ।
उनले निष्पक्ष हुनुपर्ने प्रहरी प्रशासन गठबन्धनका नेताहरुको इशारामा एमालेविरुद्ध खुलेआम उत्रिएको आरोप लगाउँदै उनीहरुलाई तुरुन्त वर्खास्त गरेर छानविन हुनुपर्ने माग गरे । एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साहले एक साता अगाडि नागेन्द्र साहको नाममा रहेको बा१७च ६१६३ नम्बरको स्कोर्पियो पिकअपले गौर–चपुर सडक खण्डको हर्षाहामा ठक्कर दिँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएका घटनामा समातिएका चालकलाई रिहा गरी प्रहरीले गाडीमा हुँदै नभएका गाडी धनी साहको नाममा मुद्धा दर्ता गरेर फसाउने षड्यन्त्र गरिरहेको बताए ।
उनले उक्त दुर्घटना भएको समयमा गाडीमा को-को सवार थिए ? भन्ने हेरेर थाहा पाउन सडकमा रहेका सीसीटीभी फुटेज र भिडियो क्लिपहरु हेरेर थाहा पाउन सकिने भएपनि जवरजस्ती साहलाई फसाउने नियतले मुद्धा दर्ता गरेको भन्दै निर्दोषलाई फसाउने खेलको अन्त्य हुनुपर्ने बताए ।
उनले सो दुर्घटना निकैनै दुःखद् भएको उल्लेख गर्दै वास्तविक दोषीलाई पक्राउ गर्न छाडेर प्रहरी प्रशासन निर्दोषको पछाडि लागेको आरोप लगाउँदै घटनामा दोषी देखिएका जो कोहीँ पनि उम्कन नहुने माग गरे ।
केन्द्रीय सदस्य एवम् जिल्ला सह इन्चार्ज उद्धव रेग्मीले प्रहरी प्रशासनका पछिल्ला गतिविधिले उनीहरु नियोजित रुपमै एमालेविरुद्ध लागेको प्रष्ट देखिएके भन्दै अहिलेकै प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक जिल्लामा रहिरहे बैशाक ३० मा हुने स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा शंका उत्पन्न भएको बताए ।
केही दिन अगाडि एमालेका उपमेयर र वडाध्यक्षलाई प्रमुख जिल्ला अधिकारीले कार्यकक्षमै गाली गर्दै दूव्र्यवहार गरेपछि माफी मागेको, एमाले स्थायी कमिटी सदस्य प्रभु साहका स्वकीय सचिव विजय यादवलाई विना कारण प्रकाउ गर्दा प्रहरीले माफी माग्दै छोडेको घटनालाई स्मरण गर्दै उनले गठबन्धन दलको इशारामा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले एमालेका कार्यकर्तालाई बिना कारण दुःख दिने, फसाउने योजना बनाएको आरोप लगाए ।
प्रहरी प्रशासनको एमालेविरुद्ध षड्यन्त्रपूर्ण रवैया जारी रहे आफूहरु कडा आन्दोलनमा उत्रने केन्द्रीय सदस्य एवम् जिल्ला सह इन्चार्ज कुन्दन कुशवाहले बताए । उनले एमाले सदैव सत्य, न्याय र निष्पक्षताको पक्षमा शतिसाल जसरी उभिरहेको भन्दै एमालेको सहनशिलतालाई कमजोरी नठान्न प्रहरी प्रशासनलाई चेतावनी दिए ।
नेकपा एमाले मधेस प्रदेशका उपसचिव आरती भण्डारीले शक्ति र शत्ताको दम्भमा रौतहटको प्रहरी प्रशासन एमालेविरुद्ध एकोहोरो भएको भन्दै आसन्न स्थानीय तहको निर्वाचनमा पनि अहिलेको प्रहरी प्रशासनको नेतृत्व गठबन्धनसँग मिलेर एमालेलाई हराउन लागिपर्ने आरोप गराएकी छन् ।
उनले धाँधलीरहित, निपष्क्ष स्थानीय तहको निर्वाचन गराउन अहिलेका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षलाई तुरुन्त वर्खास्त गरेर जिल्लामा कुशल नेतृत्व पठाउन नेपाल सरकार समक्ष माग गरिन् ।
एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन गरुडाको परिक्रमा गरी ईलाका प्रहरी कार्यालय गरुडा अगाडी नारा जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो ।सो क्रममा प्रदर्शनकारीहरुले “निर्दोषलाई फसाउन पाईदैन, पक्षपाती सरकार/प्रशासन चाहिदैन, पक्षपाती सीडीओलाई बर्खास्त गर, निष्पक्ष निर्वाचनको वातावरण तयार गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दाबाद, षड्यन्त्रकारी सिडियोलाई कारवाही गर, हर्षाहा सवारी दुर्घाटनाको उच्चस्तरीय छानबिन गर, मुद्दाको वास्तविकता लुकाउनेहरुलाई कारवाही गर, हर्षाहा सवारी दुर्घटनाको वास्तविक दोषीलाई करवाही गर, राजनीतिक प्रतिशोधले निर्दोषलाई फँसाउने षड्यन्त्र बन्द गर, सवारी दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर, लासमाथि राजनीतिक गर्ने घृणित कार्य बन्द गर” जस्ता नाराहरु लगाइएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष त्रिभुवन साहले दोषी उम्काएर निर्दोषलाई फसाउने कार्य तत्काल रोक्न चेतावनी दिए । आज शान्तिपूर्ण प्रर्दशन गरिएको भए पनि प्रहरी प्रशासनले गठबन्धन सरकारको ईशारामा झालझेल र षडयन्त्र गर्ने कार्य बन्द नगरे जनताले जिल्ला भर प्रतिकार गर्ने र अनिश्चितकालको लागि बन्द हडताल गर्ने बताए । प्रशासनले शान्ति सुव्यवस्था कायम गर्नुको सट्टा जनतालाई झनै भयवित बनाएको बताउदै अध्यक्ष साहले पाँच दलीय चोर गठबन्धनको सरकारको योजनामा प्रहरी प्रशासन चल्नु शर्मनाक परिवेश भएको जीकिर गरे । एक साता अगाडि नागेन्द्र साहको नाममा रहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपको ड्राइभरले मान्छे पुर्याएर महोत्तरीबाट रौतहट फर्किदै गर्दा गौर-चपुर सडक खण्डको हर्षाहामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको थियो ।
घटनास्थलमा समातिएको चालकलाई रिहा गरी प्रहरीले गाडीमा हुँदै नभएको व्यक्तिको नाममा मुद्दा दर्ता गरेको आरोप लागेको छ । सुचना प्रविधिको युगमा सिसिटीभी फुटेज र भिडियो क्लिपहरु प्रमाणको रुपमा हुँदा समेत सरकारी षडयन्त्र अनुरुप त्यसमा देखिएको व्यक्तिलाई छाड्ने र निर्दोषमाथि मुद्दा दर्ता भएको दोषी उपर छानबीन गर्न र निर्दोषलाई फसाउने कार्य गरेको सिडियो र एसपीलाई बर्खास्त गरी रौतहटबाट हटाउनुको विकल्प नरहेको केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साहले बताए ।
दुर्घटनाको गहण अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई क्षतिपुर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले राजनीतिक स्वार्थमा चाकडी गरी दुर्घटनाको पीडितको समेत मन दुखाएको उनको आरोप छ ।


