काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र पक्षले बागमती प्रदेश सभा सदस्यसहित २६ जनामाथि कारबाही गरेपछि मिलन पाण्डेले आपत्ति जनाएका छन्। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएका छन् ।यसमा प्रदेश सांसद रमेश पौड्याललगायत मूल बाटो नामक दस्तावेज ल्याउने नेताहरू रहेका छन् । यी मिलन पाण्डे पक्षीय नेताहरू हुन् । पाण्डेलाई यसअघि नै मिश्रले जिम्मेवारीबाट मुक्त गरिसकेका छन् ।
मिश्रले कारबाही गरेको पुकार बमसहितका अधिकांश नेता विवेकशील साझाको संस्थापक रहेको भन्दै पाण्डेले क्षणिक जित ठूलो कुरा नभएको बताएका छन्। केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्दि्रका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।यसैगरी रमेश पौड्याल, रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि जिम्मेवारीबाट हटाइएको छ । गएका चारवटा केन्द्रीय समितिका बैठकहरुमा लगातार अनुपस्थित रहेका, बारम्बार लेभीका लागि अनुरोध हुँदा पनि लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको विवेकशील साझा पार्टीले जनाएको छ ।
वैकल्पिक राजनीत सुरु गर्नेमाथि नै काबाही गरेको भन्दै पाण्डेले भनेका छन्, ‘जसले वैकल्पिक राजनीति सुरु गर्यो, जसले हालेको जगमा टेकेर राजनीति गर्दै हुनुहुन्छ, उसलाईनै कारबाही? मलाई यसपालि चाही रिस उठेन, बरु दया लाग्यो।’
महाभारतमा छल गरेर सकुनीले जितेका भए पनि अन्तिममा जित पाण्डवकै भएको बताए। पुकार बमले उज्ज्वल थापासँगै वैकल्पिक राजनीति सुरु गरेको पाण्डेले जनाएका छन्। आफूहरुले गाली गर्न छाडेको दिन देखि मिश्रको राजनीति सकिने पाण्डेको दाबी छ।


