विरोध गर्नुपर्ने जस्तो लाग्दैन – प्रचण्ड ‘पिर’ मार्फत प्रकाश सपुतले उठाएका प्रश्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् ।कैलालीमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताए ।प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् ।

डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’कार्यक्रमको व्यस्तताले त्यो गीत आफूले पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको बताउँदै उनले भने, ‘त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन ।’प्रकाश सपुतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै प्रचण्डले प्रशंसासमेत गरे ।उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताए । ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु छन्,’ प्रचण्डले भने ।


माओवादीको हिंसात्मक युद्ध र त्यसको परिणाम भोग्ने एउटा ठूलो वर्ग अटाएको १६ मिनेट २५ सेकेन्ड लामो भिडियोमा। एक माओवादी पूर्वलडाकु मासु पसल चलाउँछन्, जो युद्धमा अपांग भएका छन्। पत्नी पनि गोलीको खत बोकेर हिँडेकी छन् शरीरमा। मासु बेचेर लेनिनको पुस्तक पढ्न अझै छाडेका छैनन्। पत्नीलाई छोरीको पिर छ। तीन महिनादेखि भाडा तिर्न सकेका छैनन्। भिडियोमा कष्टकर सहरी दैनिकी झल्किन्छ। गीतसँगै आवश्यक संवादहरु राखिएको छ।’ह्या ! यस्तो गीतहरु गाउँदिन, बनाउदिन भन्छु तर फेरि कसो कसो सिर्जनाहरु उतै मोडिन्छन्।

थाहा छैन म निराशावादी हो कि हामी बाँचेको समय र परिवेश निरासाजनक हो।’ आफ्नो नयाँ सिर्जना ‘पिर’ सार्वजनिक गर्नुभन्दा अघिल्लो दिन बिहीबार प्रकाश सपुतले त्यसको पोस्टरसहित ट्विटरमा लेखेका थिए। त्यसमा उनले मिश्रित प्रतिक्रिया पाए। प्रकाश सपुतको सिर्जनाले चर्चा पाउने गरेको छ र रुचाइने गरेको पनि छ। यसपटक भने उनको गीतले तरंग नै ल्याइदियो। गीतको चर्चासँगै पक्ष र विपक्षमा तीव्र प्रतिक्रियाहरु आइरहेका छन्।

फेसबुक र ट्विटरमा भने मिश्रित प्रतिक्रिया आइरहेका छन्। केहीले राम्रो विषय उठाएको भनेर प्रशंसा गरेका छन् भने कतिपयले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन्। कतिपयले त आउँदै गरेको स्थानीय चुनावसँग पनि यसलाई जोडेका छन्, किनकी भिडियोमा माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर देखाउन खोजिएको छ।द्वन्द्वमा सहभागी एक लडाकु जोडीले भोग्नुपरेको दुःख भिडियोमा देखाइएको छ। गीतले दश वर्ष लामो सशस्त्र द्वन्द्वको उद्देश्यमाथि नै प्रश्न गरेको छ।


गीतविरुद्ध खासगरी सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू खनिएका छन्। माओवादी केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि गीतलाई लिएर आपत्ति जनाएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘पिरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऊँ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन् त्यो आपत्तिजनक मात्र छैन, दण्डनीय पनि छ।’ सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् ।

जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इन्चार्ज दिपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै भनिएकाे छ, ‘जनमुक्ति सेनाले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्ध नै विद्रुपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार माग गर्दछौं ।

‘भिडियोमा माओवादीका पूर्वलडाकुलाई आफ्नो जीवन धान्नका लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्य देखाइएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘भिडियोको सारवस्तु समग्रमा ऐतिहासिक जनआन्दोलन, दश वर्षे जनयुद्धमा होमिएका महिलालाई देहव्यापार र पुरुषलाई परस्त्रीगमनजस्तो अनैतिक कार्यसँग तुलना गर्नु÷जोड्नु अत्यन्तै दुखद र आपत्तिजनक छ । तसर्थ नितान्त पूर्वाग्रही, झुट र भ्रामक कार्यगर्नेउपर कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।’


पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले ट्विटरमा प्रतिक्रिया जनाउँदै गीतले जनयुद्धको विरोध नगरेको बताएका छन्। उनले भनेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यसनिम्ति क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने?’
बाबुरामले थपेका छन्, ‘तथ्यबाट सत्य खोज’मार्क्सेली चिन्तन पद्धतिले भन्छ। अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारका निम्ति देह बेच्न बाध्य छन्।

हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्। तीतो सत्य स्वीकारौं, समाधान खोजौं। प्रकाश सपुतलाई नसरापौं !’


नेकपा माओवादी केन्द्रका संघीय सांसद सुदन किरातीले गायक प्रकाश सपुतको सार्वजनिक भएको नयाँ गीत ‘पिर’माथि प्रश्न गरेका छन् ।त्यहीँ गीत हेरेर सांसद किरातीले सपुतलाई देशमा अझैँ निरंकुश राजतन्त्र भए संगीत क्षेत्रमा रचनात्मक रुपमा खेल्न पाउनुहुन्थ्यो भन्दै प्रश्न गरेका छन् । यस्तै, सांसद किरातीले राजतन्त्र भइदिएको भए दलित जातिमाथि लादिएको विभेद पनि हट्थ्यो भन्दै पनि प्रश्न गरेका छन् ।


।माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जीत तामाङले सुपतलाई खुलेआमा राजनीतिमा आउन चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैको उक्साहटमा माओवादीविरुद्ध प्रयोग हुनुभन्दा खुलेआमा राजनीतिक प्रतिस्पर्धामा आउन आग्रह छ ।’ उनी उक्त गीत ‘पिर’ शीर्षमा कथाकारको अर्धचेत, अल्पज्ञानको उपज भएको बताएका छन् ।माओवादीको कमीकमजोरी स्वीकार गर्दै भनेका छन– ‘परिवर्तनका लागि मृत्युसँग मुकाबिला गरेका हाम्रा कमरेडहरु त्यति निच जिवन बिताइरहेका छैनन्, बरु एक छाक खाएका छन्, एकधरो कपडा लाएका छन् तर स्वाभिमान, नैतिकता र आत्मसम्मान गुमाएर जिउँदै मरेका छैनन ।’


उक्त गीत माओवादी जनयुद्ध र महिला जनमुक्ति सेनाहरुलाई अपमानित गरेर बनाइएको भन्दै गीत हटाउन पर्ने उनको माग छ ।

प्रकाश सपूत प्रस्टीकरण

विवाद र चर्चामा आएको गीत पिर बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रस्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका छन् ।

सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनको भनाइ छ । जसले गर्दा केही दर्शक स्रोतलाई कर्मा परेको महशुस गरेको उनले प्रस्ट पारेका छन् । गीतले भन्ने चाहेको कुरा सबैलाई अवगत भइसकेकेको भन्दै उनले भनेका छन्, ‘एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ? तपाईंहरू (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु ।’


’पिर’ बाट आफुले युद्धकै जग-बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको उनको भनाइ छ । समानताको लागि एकसाथ लडेका कमरेडहरूबिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको उनको भनाइ छ । गीत मार्फत आफुले एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको बताए ।

‘मलाई लागेको- यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिदै÷ पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?’ उनले लेखेका छन् । ‘जसरी यसअघिका गीतहरू ’बोल माया’, ’दोहोरी ब्याटल’, ’गल्बन्दी’, ’बदला बरिलै’, ’फुटेका चुरा’ , ’मेरो पनि हैन र यो देश’, ’कुरा बुझ्न पर्छ ’ गीतहरूमा कथा बुन्थें, पात्र बनाउथें, टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड÷छायाङकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।’ उनले लेखेका छन् ।


उनले गीतको पृष्ठभूमिका बारेमा समेत लेखेका छन् ।उनले लेखेका छन्- ‘६ वर्ष अगाडि करिब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने-बजाउने- पकाउने-पस्कनेमध्यका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु ।

प्रतीकात्मक रुपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ’पिर’ । यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें । केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरें । केही पात्रहरू पढें । आममानिसका भोगाई र संवेदनाहरू बुने र भिडियो बनाएँ । मेरो पेशा र पहिचान यहि हो ।’एउटै गीतमा सबै दृष्टिकोण अटाउन नसकिने, पूरै बुझाई बुझाउन पनि नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..