उच्छृङ्खल देखिए कारबाही हुने
सिराहा । रङको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि सिराहा प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ ।
आज देखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सिराहा प्रहरी नायब उपरीक्षक एवं प्रबक्ता सुवास बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियानमार्फत प्रचारात्मक ¥यालीसहित माइकिङ, मोबाइलगस्ती गरेर सचेतना जगाइएको छ । तर उच्छृङखल देखियो भने कारवाही हुने उनले चेतावनी दिए ।
यो वर्ष पहाडी क्षेत्रमा चैत ३ गते र सिराहा सहित तराईमा चैत ४ गते होली मनाइन्छ । सिराहा जिल्लामा भने होली दुबै दिन मनाउने गरिन्छ । रङ दलेर होली एक आपसमा भाइचाराका साथ खुशी मनाउँदै सद्भाव साटासाट गर्ने पर्व हो ।
तर पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना छन् ।
अहिले ईलाका प्रहरी कार्यालय , प्रहरी चौकी र सिमा प्रहरी कार्यालयहरुलाई पनि घटना भएपछि पक्राउ गर्नुभन्दा घटना हुन नदिनका लागि विभिन्न कार्यक्रम गरी सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) अर्जुन प्रसाद तिमिल्सिनाले घटना हुन नदिन शुरुमै प्रचारात्मक कार्यक्रममार्फत सचेत बनाउँदै संस्कृति र परम्परा अनुसार होली खेल्न अनुरोध गरिएको छ । पर्वका दिन कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गरिने बताए ।
समुदाय र प्रहरीको संयुक्त अभियान जारी रहेकाले विगतको भन्दा घटना न्यूनीकरण हुने विश्वास गरिएको उनको भनाइ छ । यसपटक सिराहामा करिब सयौं स्थानमा चेक प्वाइन्ट राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
सिराहा जिल्लामा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै प्रहरी उपरीक्षक तिमिल्सिनाले इच्छा विपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउने, अमर्यादित गतिविधि गरेको पाइएमा अभद्र व्यवहार अन्तर्गत कानूनी कारवाही हुने उल्लेख गरे ।
“सबैलाई मेरो विनम्र अनुरोध छ, होलीलाई संस्कृतिअनुसार शान्तिपूर्ण तवरले मनाइदिनु होला” तिमिल्सिनाले थपे । यस्ता गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालयमा अथवा प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन समेत आह्वान गरिएको छ ।
तीन चार दिन देखिनै होली विशेष सुरक्षा योजना अन्तर्गत प्रचारात्मक कार्यक्रम अघि बढाएको र मापसे चेकजाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए । उनका अनुसार सादा पोशकका प्रहरी, घुमुवा प्रहरी र गस्ती टोलीसमेत बढाइएको छ ।
हिरण्यकश्यप नामक राक्षसले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रल्हादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र होलिकाले प्रल्हादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रल्हादलाई केही नभएको किम्बदन्तीअनुसार त्यसैको खुशियालीमा एकआपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।


