धरान । धरानका सबै वडाबासीलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन वडामै स्वास्थ्य केन्द्र भवन निर्माण गर्न थालिएको मेयर तिलक राईले बताएका छन् । उनका अनुसार हाल धरानका ९ वटा वडामा भवन निर्माणधिन छन् केही वडामा आफ्नै भवनमा स्वास्थ्य केन्ँद्र सञ्चालन भैरहेका छन् ।
धरान–१५ नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटनको अवसरमा शुक्रवार उनले सरकारको नीति अनुसार एक वडामा एक आधारभुत स्वास्थ्य सेवा निर्माण गर्ने कार्यक्रम अनुसार धरानको २० वटा वडामध्ये ९ वटा वडामा स्वास्थ्य केन्द्र भवन निर्माण भैरहेको बताए ।
धरानका वडा ११, १३, १४ र १५ मा आफ्नै भवनमा स्वास्थ्य केन्द सञ्चालन भैरहेका छन् । वडा ६ र १७ मा भवन निर्माणको अन्तिम चरणमा छ । वडा ४, ८ र १६ को भवन निर्माणाधिन अवस्थामा छ । मेयर राईले केही वडाहरुमा ठेकेदारको कारण ढिला भएकोले ठेकेदारलाई दबाब दिईरहेको जानकारी दिए ।
नवनिर्मित भवन संघिय सांसद जयकुमार राई र मेयर राईले संयूक्त रुपमा उद्घाटन गरेका हुन् । सांसद राईले भने ‘प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल र प्रत्येक वार्डहरुमा स्वास्थ्य सेवा केन्द्र विस्तार गर्ने निति अनुसार भवन निर्माण भएको हो ।’ उनले वास्थ्य भन्दा ठूलो कुरा अरु केही नहुने बताउँदै वडा १५ का जनतालाई लक्षित गरेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भवन बनेको बताए ।
उपमेयर मञ्जु भण्डारीले वडा १५ मा २५ हजार भन्दा बढी जनसंख्या रहेको बताउँदै स्वास्थ्य केन्द्र भवनको निर्माणले वडाबासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुग्न सहज भएको उल्लेख गरिन् । वडाध्यक्ष नरेश ईवारमले ७६ साल मंसिर १४ गतेको निर्वाचनपछि मेयर तिलक राई निर्वाचित भएर आए पश्चात उपमहानगरपालिकामा संघिय बजेट आएपछि स्वास्थ्य सेवा केन्द्र भवन निर्माणको कार्य अगाडी बढेर भवन निर्माण सम्पन्न भएको बताए ।
स्वास्थ्य सेवा केन्द्र भवन ६३ लाखको लागतमा निर्माण भएको हो । स्वास्थ्य शाखा प्रमुख उमेश मेहताका अनुसार स्वास्थ्य केन्द्रमा ४५ किसिमको औषधीहरु निशुल्क पाईने छ ।


