काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।
साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ । निगमले अप्रिल २०२२ देखि नै व्यवसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने समेत जनाएको छ । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरेपनि अनुमति पाएको थिएन ।
‘पहिलो चरणमा हामी रियादमा साताको तीन उडान गर्ने तयारीमा छौं,’ प्रवक्ता खड्काले भनिन्, ‘कुन कुन बार र कति कति समयमा उडान गर्ने भन्ने सन्दर्भमा छलफल भइरहेको छ।’अब निगमले साउदीमा सम्पर्क कार्यालय पनि विस्तार गर्ने उनले जानकारी दिइन्।निगमले झन्डै चार वर्षअघि जापान, कोरिया र साउदी अरेबिया उडान गर्ने उद्देश्यले वाइडबडी जहाज ल्याएको थियो।
केही समय अघिदेखि साउदीमा उडानका लागि प्रक्रिया सुरू गरे पनि जिएसएको टुंगो लाग्न सकेको थिएन। साउदी उडानका लागि जेद्धास्थित एम/एस फैसालिआ मोडर्न एभिएसनलाई जिएसएमा छनोट गरिएको निगमले जनाएको छ। साउदी सरकारबाट अनुमति पाएसँगै उडानका लागि बाटो खुलेको हो।अरू मुलुकमा अनुमति लगायत अन्य प्रक्रिया पूरा नभएकाले उडान भर्न सकिरहेको छैन।
‘जापानको ओसाका र नारितामा भने उडान गर्ने तयारी गरिरहेका छौं,’ प्रवक्ता खड्काले भनिन्, ‘चीनको गोन्जाओमा पनि छिट्टै उडान गर्ने तयारी भइरहेको छ।’साउदी अरेबियाको भने सबै प्रक्रिया सकिएकाले यसनिम्ति निगमले जहाज तथा कर्मचारी व्यवस्थापन लगायत तयारी गरिरहेको उनले बताइन्।’यो रूटमा विशेष गरी वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूलाई लक्षित गरिएको छ,’ उनले भनिन्।साउदी नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकमध्ये एक हो। यहाँ तीनलाख भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर रोजगारीमा आबद्ध छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार रोजगारीका लागि श्रम स्वीकृति लिएर मासिक दस हजार बढी नेपाली त्यहाँ पुग्ने गरेका छन्। गत माघमा मात्रै १४ हजार दुई सय ४१ नेपाली श्रम स्वीकृति लिएर साउदी पुगेको देखिन्छ।
‘यसले गर्दा पनि अब वैदेशिक रोजगारीका लागि साउदी जाने नेपाली लाभान्वित हुने अपेक्षा छ,’ प्रवक्ता खड्काले भनिन्, ‘नेपालीहरूले अब आफ्नै राष्ट्रिय ध्वजावाहक जहाजमा आवतजावत गर्न पाउने भएका छन्।’
हाल साउदीमा नेपालको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले नियमित उडान गर्दै आएको छ। तर निगमले हाल भाडाको विषयमा के कति तय गर्ने भनेर निर्क्यौल नगरिसकेको उनले बताइन्।
वाइड-बडी किन्दा निगमले जापान, कोरिया, साउदी अरेबिया जस्ता मुलुकमा उडाउने भने पनि स्वीकृति भने थिएन। कतिपयसँग हवाइ-सेवा सम्झौता भए पनि उडान अनुमति थिएन। युरोपमा त निगम कालो सूचीमा थियो। अहिले पनि छ।वाइड-बडी आएपछि पनि निगमले लामो समयसम्म ती मुलुकमा उडाउने स्वीकृति पाएन। निगमले अन्तर्राष्ट्रियतर्फ दुई वाइड-बडी, दुई न्यारो-बडी र एक बोइङमार्फत भारत, युएई, हङकङ, मलेसिया, कतार लगायत मुलुकमा उडान भर्दै आएको छ।
यसमध्ये एउटा न्यारो-बडी जहाज पनि इञ्जिनमा समस्या आएर दुई महिनादेखि कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको थियो। गत पुस १३ गतेदेखि बिग्रिएर थन्केको उक्त न्यारो-बडी जहाज भाडाको इञ्जिन जडान गरेर हालै नेपाल ल्याइएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार निगमको न्यारो-बडी ए ३२० विमानको (एन–एकेडब्लु) काठमाडौं–दोहा नियमित उडानका क्रममा पार्किङ वेमा इञ्जिनमा समस्या देखिएको थियो।’उक्त जहाज नेपाल ल्याउन ग्लोबल टेन्डरमार्फत कम्पनी छनोट गरेर तीन महिनाका लागि भाडाको इञ्जिन जडान गरेर नेपाल ल्याइएको हो,’ उनले भने। निगमले नेदरल्यान्ड्सको एमटियु मेन्टिनेन्स लिज सर्भिसेज बिभी कम्पनीमार्फत इञ्जिन भाडामा लिएको हो।
दुई वर्षपछि भारतले अन्तरराष्ट्रिय उडानका लागि लागु गरेको एयरबबल सम्झौता खारेज गरेको छ।कोभिड संक्रमण नियन्त्रणमा आएसँगै भारतले अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न मुलुकसँग सन् २०२१ मा गरेको एयर बबल सम्झौता खारेज गर्दै आउँदो मार्च २७ बाट नियमित उडान सुरु गर्ने भएको छ।
सम्झौता खारेज भए पनि भारतमा दुईतर्फी उडान गर्दै आएका अन्तर्राष्टंरिय वायुसेवा कम्पनीलाई स्वास्थ्य सुरक्षा अवलम्बनमा कडाइ भने कायमै रहने भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।गत फेब्रुअरी २८ मा प्राधिकरणले यो सम्झौता केही समयका लागि लम्ब्याएको थियो। कोभिड संक्रमणका कारण भारत सरकारले गत सन् २०२१ बाट एयर बबल सम्झौता अनुसार विभिन्न मुलकसँग दोहोरो उडान गर्दै आएको थियो।
अन्तर्राष्ट्रियतर्फको नियमित उडान सामान्य अवस्थामा फर्किएसँगै अब दुवैं मुलुकका ध्वजावाहक वायुसेवा कम्पनीबाहेक निजी वायुसेवा कम्पनीले पनि माग अनुसारको उडान संख्या र गन्तब्यहरु विस्तार गर्न सक्ने जनाइएको छ।
दुई वर्षयता काठमाडौं-दिल्ली उडान गर्दै आएको नेपाल वायुसेवा निगमले अब बैंगलोर, मुम्बइतर्फको उडान सुरु गर्ने जनाएको छ। यसैगरी निजी वायुसेवा कम्पनी बुध्द एयरले आउँदो अप्रिलबाट काठमाडौं-बनारसतर्फको उडान पुनः सुरु गर्नका लागि डकुमेन्टेशनको काम अगाडि बढाइसकेको जनाएको छ।
कम्पनीका अनुसार यो गन्तब्यमा आइतबार, बुधबार, शुक्रबार लगायत साताको तीन दिनको उडान तालिका बनाइएको छ।यसअघि नेपालको तर्फबाट नेपाल एयरलाइन्स र भारतको तर्फबाट एयर इण्डिया, एयर इण्डिगो, भिस्तारा लगायत वायुसेवा कम्पनीलाई साताको जम्मा ५६ वटा उडान अनुमति दिइएको थियो।पछिल्लो समय भारतले गत डिसेम्बरबाटै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नियमित उडान अनुमति दिने योजना बनाए पनि कोभिडको पछिल्लो भेरियन्ट ओमिक्रोनका कारण स्थगित गरेको थियो।
भारतले अफगानिस्तान, अष्ट्रेलिया, बहराइन, बङ्लादेश, भुटान, क्यानडा, इथोपिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इराक, जापान, काजकिस्तान, केन्या, कुवेत, मालदिभ्स, मौरिसस, नेपाल, नेदरल्याण्ड, नाइजेरिया, ओमान, कतार, रसिया, रुवान्डा, साउदी अरेबिया, सेकलेस, सिंगापुर, श्रीलंका, स्विटजरल्याण्ड, तान्जानिया, युक्रेन, अमेरिका, युएई, बेलायत, उज्बेकिस्तान लगायत विभिन्न मुलुकसँग एयर बबल सम्झौता गरेर ती देशका वायुसेवा कम्पनीलाई भारतीय गन्तव्यमा उडान अनुमति दिएको थियो।त्यसअघि भारतले सन् २०२० बाट अन्तर्राष्ट्रियतर्फको नियमित उडानमा प्रतिबन्ध लगाएको थियो।
त्यसलाई सहज गर्न सीमित उडानका लागि अपनाइएको एयर बबल सम्झौता अन्त्यको घोषणा भारतले आज गरेको हो। यससँगै अब मार्च २७ बाट भारतबाट र भारतमा व्यवसायिक उडान गर्दै आएका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुले पहिलेकै अवस्थामा यात्रुवाहक उडान गर्न सक्ने भन्दै भारतीय उड्डयन प्राधिकरणले सर्कुलर जारी गरेको हो।
यो सम्झौता खारेज भएसँगै अब दुवै मुलुकका वायुसेवा कम्पनीबीचको प्रतिपस्पर्धा पुनः पुरानै लयमा फर्किनेछ।
यसले हवाई भाडादरमा यात्रुलाई थप लाभ मिल्नसक्ने सम्भावना खुला भएको छ।यसअघि नै नेपाल-भारत हवाई भाडादरमा कटथ्रोट कम्पिटिसन सुरु भइसकेको छ। सीमित उडान संख्याका कारण दुई वर्षदेखि सकसमा रहेको नेपाल-भारत उडानमा चर्को प्रतिस्पर्धा सुरु भएको छ। कुनैबेला एक लाख रुपैयाँ हाराहारी पुगेको काठमाडौं-दिल्ली-काठमाडौं दुईतर्फी भाडा यतिबेला १६ हजार रुपैयाँसम्म झरेको छ।
यो रुटमा सीमित उडान हुँदा हवाइ भाडा एकतर्फी नै ५२ हजार रुपैयाँसम्म पुगेको थियो, जुन अहिले आठ हजार हाराहारीमा झरेको हो।


