पर्सा । सशस्त्र प्रहरी बलकाे पर्सा स्थित सबइठवा क्षेत्रबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थको तस्करी धन्दा शुरू भएको छ। अहिले पर्साका मात्रै हाेइन देशव्यापी रूपमा पेट्रोलियम पदार्थको हाहाकार छ। रूस र युक्रेन बीचको लडाइँको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य आकाशिएसंगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ। नेपालमा पेट्रोलकाे मुल्य १५० रूपैयाँ पुगेको छ।
नेपालमा भन्दा भारतमा प्रति लिटर २५ देखि ३० रूपैयाँ पेट्रोलियम पदार्थ महंगो रहेको छ। महंगो भएको कारण सीमावर्ती क्षेत्रमा नेपालबाट भारत तर्फ पेट्रोलियम पदार्थको व्यापक तस्करी हुदै आएको छ। यसको तस्करीमा सुरक्षाकर्मीले साथ दिदै त्यसबाफत माेटाे रकम असुली गरिरहेका छन् । सशस्त्र प्रहरी बलकाे सबइठवा स्थित बिअाेपीका निरीक्षक प्रकाश भुजेलकाे पूर्ण संरक्षण र सेटिङ एवं प्रहरी चाैकी खेसराहका असई राजकुमार ठाकुरको साथमा यहाँबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थको तस्करी भैरहेको छ। तस्करीको लाइन भारत कगली घर भएका राम लखन साहले पाएका छन् । भारतीय तस्करले पाँच वटा माेटरसाइकलमा २०० लिटरको दरले रातभरि पेट्रोलियम पदार्थ भारततर्फ तस्करी गर्दै आइरहेका छन् । स्थानीय उपभोक्ताहरूलाई पेट्रोल पम्पका संचालकहरूले पेट्रोल तथा डिजेल छैन भन्ने तर रातभरि भारतीय नागरिकलाई दिएर तस्करी गर्ने काम गर्दै आइरहेका छन् ।
नेपाल आयल निगमले गरेको मुल्य निर्धारण भन्दा पाँच रूपैयाँ बढीमा भारतीय तस्कर रामलखन साहले खरिद गरेर भारततर्फ तस्करी गरिरहेका छन् । निगमले दिएको तेल एक, दुई दिनमा नै पम्पमा रित्तै हुने गरेको छ। सीमावर्ती क्षेत्र पकाहामा रहेकाे सरस्वती आयल ,मैनपुरमा रहेको कामेश्वर आयल र अलाैमा रहेको श्रीराम आयल पम्पबाट अहिले ठूलो मात्रामा पेट्रोलियम पदार्थको तस्करी भारततर्फ हुदै आएको छ। तस्कर रामलखनले स्थानीय सशस्त्र प्रहरीलाई प्रति लिटर डेढ रूपैयाँ र नेपाल प्रहरीलाई पचास पैसाका दरले कमिशन दिने गरेको र साेही कारण यस क्षेत्रबाट तस्करी भैरहेको यातायात व्यवसायीहरू बताउँछन् ।


