काठमाडौं । प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता डा. भीम रावललाई व्यक्तिगत रुपमा हिरो देखिन खोजेको भन्दै अनुशासनहीन काम गरेको बताए । ओलीले पार्टीका नेता डा. भीम रावललाई पार्टीको अनुशासन उल्लंघन गरेर ‘हिरो’ बन्न खाेजेकाे भनेपछि रावलले त्यसको कडा जवाफ फर्काएका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्विटमार्फत् देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि हुने भन्दै अध्यक्ष ओली देशको पक्षमा बोलेर ‘महाहिरो’ भए आफू औँधी खुसी हुने रावलले जवाफ दिए ।उनले भने, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया।’
मंगलबार अध्यक्ष ओलीले संसद्बाट ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्दा पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा अध्यक्ष ओली नेता रावलमाथि खनिन पुगेका थिए ।
पत्रकार सम्मेलनमा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहँदा नेता रावल रोष्टममा गएर एमसीसीबारे बोल्नु व्यक्तिगत रुपमा हिरो बन्न खोजेको र अनुशासन उल्लंघन गरेको अध्यक्ष ओलीले बताएका थिए ।पार्टीले संसद् अवरोध गर्दै गर्दा नेता रावल रोष्टममा गएर एमसीसीमाथि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
राष्ट्रघाटी एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै उनी सत्तारुढ नेताविरुद्ध उत्रिएका थिए । यहीँ सन्दर्भलाई लिएर पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले रावल पार्टीको अनुशासन उल्लंघन गरेर हिरो बन्न खोजेको आरोप लगाएका थिए । अध्यक्ष ओलीले रावलले आत्मकेन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले भने, ‘मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टिकाटिप्पणी नगर्न उहाँलाई भनेको थिएँ ।
तर, उहाँले व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो । ‘भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद् सदस्य हो । तर उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहिन क्रियाकलाप गर्नुभएको छ । त्यस सम्बन्धमा पार्टीको ध्यान गएको छ ।’पार्टीको अनुशासन उल्लंन गरेर एमसीसीबारे बोलेका रावललाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा ओलीले केही बोलेनन् । केव रावलले पार्टीको निर्णय र धारणा विपरीत काम गरिरहेको ओलीको भनाइ थियो ।


