नेपालगञ्ज । बाँके प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई सजाय पाइसकेका तीन जनालाई हातहतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय छन् ।
उनीहरुलाई डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोक सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा गोली पड्किएजस्तो आवाज आएपछि ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगंजबाट राप्ती नदीतर्फ जाँदै गरेको सुशान्तले चलाएको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको सिट पछाडि झोलामा लुकाई राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अधिकारी १४ माघ २०७१ मा बाँकेका रन्जीव शाहलाई खुकुरी प्रहारी गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा अदालतबाट धरौटीमा रिहा भएका थिए । उनी १५ वैशाख २०७२ मा ५० ग्राम चरेससहित पक्राउ परेका थिए । उनी विभिन्न चोरी, ब्राउनसुगर कारोबारलगायत घटनामा संलग्न भएको आरोपमा पक्राउ परी अदालतबाट धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ ।
मंगलबारको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


