तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत रहेको प्रहरी चौकी ओयाक्जुङको नवनिर्मित कार्यालय भवनको समुद्घाटन् भएको छ । चौकीको हाता भित्र आज भएको कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मित प्रहरी चौकी ओयाक्जुङ तेह्रथुमको साढे २ तले भवनहरुको बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बिनियोजित १ करोड २८ लाख ८० हजार ८६३ रुपैयाको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो ।
वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बि.सी.ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गर्नु भएको थियो ।


