ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो
ओमान ९ विकेटले पराजित

काठमाडौं । नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी-२० ग्लोबल क्वालिफायर सकाएको छ । अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो ।


सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो ।

ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो । भुर्तेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । यस्तै आरिफ शेखले अविजित २१ रन जोडे ।पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ७.३ ओभरमा ५० रनको साझेदारी गरेका थिए । आसिफ शेख १३ रन बनाएर आउट भए । यस प्रतियोगितामा विकेटकिपिङको समेत जिम्मेवारी पाएका आरिफको ब्याटबाट सोचे अनुसारको रन भने निस्कन सकेको छैन ।


त्यसपछि भुर्तेल र आरिफ शेखले मिलेर नेपाललाई जितसम्म पुर्‍याए । यी दुईले दोस्रो विकेटका लागि अविजित ४० रनको साझेदारी गरे ।
ओमानविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेल नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले एक शतकसमेत प्रहार गरेका छन् । भुर्तेलले ११ खेलमा कूल ४९८ रन बनाएका छन् । यस्तै, पूर्वकप्तान पारस खड्काले टी-२० मा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।


त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ८७ रनमै रोकिएको थियो ।नेपाली बलरहरू हाबी भएपछि ओमानका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् । कप्तान जिसन मक्सुद (२१) र आयान खान (१६), नसिम खुसी (१५) र कलिमुल्लाह (१४) ले मात्र दोहोरो अंकको रन छुन सके ।दोस्रो ओभरमै ओपनर जतिन्दर सिंह रनआउट भएपछि नेपालले पहिलो सफलता पाएको थियो ।

अर्को ओभरमा कमलसिंह ऐरीले सोएव खानलाई कप्तान सन्दीप लामिछानेबाट क्याच आउट गरे । पाँचौं ओभरमा ओमानका अर्का ओपनर कश्यप प्रजापतीलाई ५ रनको व्यक्तिगत स्कोरमा आउट गरेपछि पावर प्ले मा १९–३ को कमजोर स्थितिमा थियो । त्यसयता नेपाली स्पिनरहरू कप्तान सन्दीप लामिछाने, आरिफ शेख र सागर ढकालले विकेट लिइरहे ।

लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा १३ रन खर्चिए । आरिफ शेख, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरीले १/१ विकेट लिए । यो प्रतियोगितामा पहिलो खेल खेलेका सागरले ३ ओभरमा १९ रन खर्चिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..