काठमाडौं । गायक तथा अभिनेता जयनन्द लामाको अन्त्येष्टि गरिएको छ । ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएका कलाकार लामाको बिहीबार दिउँसो बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको हो ।लामाको शव बिहीबार बिहान १० बजेदेखि श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा राखिएको थियो ।
नाचघरमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले लामाको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । त्यस्तै, श्रद्धाञ्जली दिन चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै कलाकारहरुसँगै, शुभचिन्तक, सर्वसाधारण एवं बौद्ध धर्मगुरुहरु समेत नाचघर पुगेका थिए ।
नाचघरमा झण्डै तीन घण्टाको श्रद्धाञ्जली कार्यक्रमपछि उनको शवलाई अन्त्येष्टिका लागि स्वयम्भू लगिएको थियो ।
कृष्ण मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, करिश्मा मानन्धर, विराज भट्ट, प्रकाश सपूत लगायत कलाकारहरु स्वयम्भू पुगेका थिए ।
गायक तथा अभिनेता लामा भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, कौशलटारस्थित आफ्नै घरअगाडि बुधबार बिहान मृत अवस्थामा फेला परेका थिए । ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’ थुप्रै चर्चित लोकगीत दिएका लामाले ‘मनको बाँध’बाट चलचित्र अभिनय यात्रा थालेका थिए ।
पछिल्ला वर्ष उनी ‘छक्का पञ्जा’, ‘जय भोले’, ‘दाल भात तरकारी’, ‘साङलो’ जस्ता चलचित्रमा अभिनय गरेका थिए । टेलिसिरियल ‘हल्का रमाइलो’मा उनी नियमित देखिंदै आएका थिए ।


