काठमाडौं । चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको बुधबार बिहान ६६ वर्षको उमेरमा निधन भयो । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, कौशलटारस्थित आफ्नै घरअगाडि उनी मृत फेला परेका थिए ।दूध पुर्याउन आउने व्यक्तिले उनलाई गाडीमा लडेको अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आएका थिए।बिहान करिब ३ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको छ । बा३च ७७४१ नंको कार लामा आफैले हाँकेर घर नजिकै पार्किङ गरेको पाइएको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उहाँको परिवारलाई जानकारी गराएका थिए ।
लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल थिए । ‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।
विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गरेका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।विभिन्न विद्यालयमा उनी सङ्गीत गुरुका रूपमा क्रियाशिल थिए । प्रहरीले लामाको शव परीक्षणका लागि दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज लगेको छ ।
शव परीक्षणपछि उनकै निवासमा श्रद्धाञ्जलिका लागि राखेर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लामाको परिवारले जानकारी दिएको छ । उनका श्रीमती र दुई छोरा छन् ।जयनन्द लामाको निधनले यतिबेला नेपाली सांगीतिक क्षेत्रसँगै चलचित्र क्षेत्र शोकमा छ ।
उनको निधनमा सांगीतिक क्षेत्र, चलचित्र क्षेत्रसँगै श्रोता-दर्शकहरु थुप्रैले दुःख व्यक्त गरेका छन् ।जयनन्दले ललितकला क्याम्पसबाट संगीतमा स्नातक र भारतको इलाहावादबाट स्नातकोत्तर गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा चार वर्षजति एमम्युजका विद्यार्थीहरुलाई अध्यापन समेत गराएका थिए ।


