काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो ।एमसीसीबारे संसदमा छलफल सुरु हुँदैछ ।
त्यसअघि बसेको तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो ।प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि सत्तारुढ दुई दलका शीर्ष नेता छलफलमा जुटेका छन् । एमसीसीको विपक्षमा उभिने निर्णय गरेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो ।
छलफल लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । ‘प्रधानमन्त्रीले नै छलफल गर्न बोलाउनुभएकाले जानुभएको हो’, माओवादी केन्द्रका एक नेताले भने ।नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादीकै सम्मानित नेता झलनाथ खनाल सहभागी थिए ।
तीन नेताबीच एमसीसी निर्णयार्थ प्रस्तुत गर्दा कस्तो भूमिकामा रहने भन्ने रणनीतिका बारेमा छलफल भएको बुझिएको छ । ५ दलीय सत्ता गठबन्धनमा रहेका दुवै दलले एमसीसी संसद्मा टेबल गर्न दिए पनि प्रस्तावको विपक्षमा उभिने निर्णय गरेका छन् ।दुवै दलका जनवर्गीय सङ्गठनहरूले एमसीसीलाई राष्ट्रघाती भन्दै विरोध प्रदर्शन जारी राखेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा रहे पनि सत्तारुढ दुई दलले साथ नदिने भएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ खोजिरहेका छन् । तर नेकपा एमालेले समेत एमसीसीमा साथ दिने नदिने स्पष्ट पारिसकेको छैन । एमालेले एमसीसीमा साथ दिन सभामुख अग्नि सापकोटाको बहिर्गमन र माधव नेपालको पार्टी खारेज गर्नुपर्ने शर्त अघि सारेका छन् ।


