सर्लाही । सशस्त्र प्रहरी बलको गस्ती टोलीले ठूलो परिमाणमा लागूऔषध नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ । सशस्त्र प्रहरी बल सुन्दरपुर चोहर्बा बेस क्याम्पको गस्ती टोलीले शुक्रबार (आज) मध्यान्ह १२ हजार पिस ट्याब्लेट नाइट्राभेट बरामद गरेको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।

बरहथबा नगरपालिका–१७ श्रीपुर कटानीमा ना५५प ९२८ नम्बर २२० सीसीको मोटरसाइकलमा बोराभित्र पोका पारेको अवस्थामा उक्त ट्याब्लेट बरामद् गरिएको सशस्त्र प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकल चालक भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्ने वितिकै फरार भएको सप्रउ खनियाँले जानकारी दिए ।


बोराभित्र ४० वटा प्याकेटमा १२ हजार ट्याब्लेट नाइट्राभेट फेला परिएको हो । भारतीय बजारमा सहजै पाइने उक्त ट्याब्लेट लागूऔषधको रुपमा प्रयोग हुने गरेकाले नेपालमा भने प्रतिबन्धित छ ।

बरामद ट्याब्लेट र मोटरसाइकल थप कारबाही प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाएको सप्रउ खनियाँले जानकारी दिए ।



