काठमाडौं । निजामती सेवा ऐन र नियममा कर्मचारीको सरुवा प्रत्येक २ बर्षमा हुने ब्यवस्था छ । तर एक उपसचिव २० बर्षदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्टार र उद्योग विभागमै कार्यरत छन् । यी आकर्षक विभाग चाहार्ने उपसचिव हुन्, तुल्सीराम गैरे ।
उनले उद्योग बिभागबाट कम्पनी रजिष्टार र त्यहाँबाट उद्योग विभागमा सरुवा हुँदै जागिरको २० बर्ष ब्यतित गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभिलेख हेर्ने हो भने उनी कम्पनीबाट उद्योग विभाग र त्यहाँबाट कम्पनी सरुवा भएको मात्र फेलापर्नेछ । जागिरमा प्रवेश गरेदेखि नै उनले वल्लो र पल्लो कार्यालयबाहेक उनले काठमाडौं बाहिर जानुपरेको छैन ।
हाल कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत गैरै गुनासो सुन्ने अधिकारी हुन् । उनलाई एक साताअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति सिन्धुपाल्चोक सरुवा गरेको थियो । तर उनी जिसस सिन्धुपाल्चोकमा रमाना बुझेर जाने भन्दा पनि सरुवा रोकेर कम्पनी रजिष्टार कार्यालयमै थमौती हुने प्रयासमा छन् ।
२० बर्षमा पहिलो पटक काठमाडौं उपत्यका बाहिर सरुवा भएका उनी नजानका लागि कम्पनी रजिष्टार प्रदीपराज अधिकारीमार्फत् सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई प्रभावमा पार्न तल्लीन छन् । कम्पनी रजिष्टारमा घुस असुली गर्न अनुभवी भएकाले रजिष्टार प्रदीप अधिकारी उनको सरुवा रोकाउन सामान्य सचिव सुरेश अधिकरीकोमा धाइरहेका छन् ।
गैरै सरुवा बदर गराउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठसम्म पुगिसकेका छन् । निजामती सेवा ऐन नियम सबैका हकमा लागू हुनुपर्ने हो । तर गैरेजस्ता सधैं उद्योग र कम्पनीमा बसी अकूत सम्पत्ति आर्जन गर्नेको हकमा लागू गराउन सामान्यले खोज्दा यो पनि उनी बदर गराउन तल्लीन छन् । गैरे उक्त नियम लागू गर्न नदिनका लागि साम दाम सबै हत्कण्डा प्रयोग गरी लागेका छन् ।
कम्पनी रजिष्टार कार्यालयमा घुसविना कुनै पनि काम नहुने गरेको जनगुनासो ब्याप्त छ । गैरेजस्ता बर्षौदेखि जरा गाडेर बसेका रैथाने कर्मचारीका कारण कम्पनी रजिष्टार कार्यालय बदनाम छ । सामान्यले सरुवा गर्न खोज्दा सचिव र मन्त्रीसम्म पहुँच पुर्याएर रोक्न खोज्ने गैरेजस्ता कर्मचारीका कारण नै कम्पनी रजिष्टार कार्यालय सुधार हुन नसकेको घामजत्तिकै छर्लङ्ग छ ।
२० बर्षदेखि उद्योग र कम्पनीमा कार्यरत उपसचिव गैरे अकूत सम्पत्ति आर्जन गर्नेमा पनि अग्रपंक्तिमा पर्दछन् । उनले भ्रष्टाचारको ठूलो हिस्सा सेयरबजारमा लगानी गरेका छन् । उनले आफन्त र निकटस्थका नाममा समेत सेयर खरिद गरेको उद्योग विभागका उनलाई चिन्ने कर्मचारील बताए ।
सेयर बजारमा अनलाइन सुरु नहुँदा उनी कार्यालय समयमा पनि कुर्सीमा कोट झुण्ड्याएर सेक्युरीटीज कम्पनीमा जाने र ३ बजे आउने गर्थे । जसका कारण सेवाग्राहीहरुसमेत आजित हुने गरेका थिए । अनलाइन सेवा सुरु भएपछि भने उनी कार्यालयबाटै सेयर खरिदबिक्रीको काम गदैआएका छन् । उनको कार्यकक्षमा जतिबेलै नेपाल स्टक एक्सचेन्जको बेबसाइट खुल्लै देखिन्छ ।
उपसचिव गैरेले २० बर्षसम्म घुसखोरी हुने कम्पनी र उद्योग जस्ता विभागमा काम गरी अकूत सम्पत्ति आर्जन गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परी १३ पन्ने भराइसके पनि मुद्दा भने दायर भएको छैन ।


