मदिरा काण्डले उदाङ्गियाे कर्तुतै कर्तुत


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई महिनाअगाडि कर्मचारीलाई हातपात गरेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले पदीय मर्यादाविपरित करिब एक दर्जन गल्ती गरेको बोर्डको कार्यसमित बैठकले औंल्याएको छ। मदिराले मातेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका भन्सारका कर्मचारीमाथि हातपात गरेपछि बोर्डले रिजाललाई छानविन समिति संयोजक बनाएको थियो। रिजालको समितिले सोमबार बोर्ड अध्यक्ष पर्यटन सचिव महेश्वर न्यौपानेलाई अध्ययन प्रतिवेदन दिएको थियो।

मंगलबार बसेको कार्य समिति बैठकले गल्तीहरुको सूची नै बनेका सीईओ रेग्मीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन पनि निर्देशन दिएको छ। स्पष्टिकरणका आधारमा कारवाही अगाडि बढाउने योजना रहेको बोर्डले जनाएको छ। रेग्मीमाथि छानविन गर्नका लागि बोर्डकै उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा बनाइएको उपसमितिले बुँदागत रुपमा निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनमा उल्लेख गरिएअनुसार रेग्मी आर्थिक अनियमितताका साथै कर्मचारीप्रति अनुचित व्यवहार, सुन चोरी पैठारी लगायतमा संलग्न रहेको फेला परेको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पदीय मर्यादा नाघेर चन्द्र रिजाललाई धम्की दिएका छन्। रिजाल बोर्डका उपाध्यक्ष हुन्। त्यही बैठक सकिएपछि रेग्मीले रिजालमाथि हप्कीदप्की गर्दै दुर्ब्यवहार गरेका थिए। ‘तँ किन संयोजक बसिस् ? पख तँलाई म देखाउँछु,’ रेग्मीले आक्रोशित हुँदै भनेका थिए।उनले रिजाल मात्रै होइन अरु सदस्यमाथि समेत खनिएका थिए। रिजालले बोर्ड बैठक सकिएपछि रेग्मीले गाली गर्दै धम्की दिएको जानकारी दिए। ‘बोर्ड बैठकमा मलाई मात्रै होइन अरु सदस्यलाई समेत गाली गरेका थिए।

रेग्मीले बोर्डको बैठक एवं छलफलको खर्च भन्दै कार्यक्रम, सहभागिको विवरणै नराखी खर्चको बिलवापत १५ लाख रुपैयाँ तोकादेशकै भरमा कार्यालयबाट भुक्तानी गरेको पनि भेटिएको छ। बोर्डको लेखा शाखामा पेस भएको बिल नं. ३६१, ७८, ६७९, ५८५, ८० लगायतको अध्ययनबाट रेग्मीबाट सरकारी कोषमा अनियमितता गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।रेग्मीले कार्यक्रम बैठक संचालनका लागि नभइ व्यक्तिगत प्रयोजनमा रेष्टुरेण्ट तथा होटलमा खर्च गरिएको बिल भुक्तानी भएको पुष्टी भएको जनाइएको छ।

रेग्मीले बोर्डको सचिवालय र बैठक कोठा बनाउँदा खरिद विनियमावली मिचेर आर्थिक अनियमितता गरेको पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार उक्त कामबाट रेग्मीले २९ लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको ठहर छ। उनले कर्पोरेट महाशाखा र खरिद एकाइबाट खरिद सम्बन्धी ऐनविपरीत एकै प्याकेजमा हुने कामलाई ६ वटा प्याकेजमा विभाजन गरेर अनियमितताको वातावरण बनाएको पनि भेटिएको छ। यसबाट उनले टेण्डर प्रक्रिया नै नगरी आफ्नो मान्छेलाई ठेक्का दिइएको जनाइएको छ।

रेग्मीले कार्यकारी समितिबाट पारित बजेट तथा कार्यक्रमले गरेको व्यवस्थाअनुसार कार्यक्रम सम्पादन नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। तोकिएको रकमभन्दा बढी ‘चार करोड ७३ लाख रुपैयाँ’ लागतमा त्रिभुवन विश्वविद्यालयसँग जीआईएसम्बन्धी सम्झौता गरेको पुष्टी भएको छ।यो सम्झौता कुनै सम्भाव्यता अध्ययन, लागत तथा लाभको अध्ययनबिना नै भएको पनि अध्ययन प्रतिवेदनको निष्कर्ष छ।


कुनै पनि लोकेसन र त्यस क्षेत्र आसपासका ठाउँहरू पत्ता लगाउन बनाइएको सफ्ट्फेवर नै जीआईएस डेटा हो। पर्यटकहरूलाई घुमफिरमा सहज बनाउन पर्यटन बोर्डले यो सफ्टवेयर ल्याउन लागेको थियो। यो वर्ष कम्तिमा तीनवटा प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमा देखिने गुरुयोजना ल्याइने योजना रहेको छ।’जीटूजी’ मार्फत् कुनै पनि विश्वविद्यालयलाई यसको जिम्मेवारी दिने प्रावधान रहेको थियो। त्यस्तो विश्वविद्यालयमा सरकारको कम्तिमा ५१ प्रतिशत स्वामित्व हुनुपर्ने तोकिएको थियो।

नेपालमा यस्ताखाले प्रावधानमा अट्ने पाँच विश्वविद्यालय भए पनि रेग्मी कसैगरी त्रिभुवन विश्वविद्यालयलाई नै प्रोजेक्ट दिने पक्षमा रहेका थिए। यसका लागि उनले त्यहाँ आफू मातहतका कर्मचारीलाई सरुवा गरेका थिए। यसो गरिरहँदा पनि उनले बच्ने आधार भने तयार पारिसकेका थिए। हरेक प्रदेशमा पर्यटन बोर्ड खोल्ने रणनीति तय गरेरै कर्मचारी सरुवा गरिएको थियो।डब्लुटिएम सम्मेलनमा बोर्डको निर्णय नै उल्टाएर एक करोड रुपैयाँ खर्च गरेको दखिन्छ। बोर्डले यो सम्मेलनका लागि १५ जना प्रतिनिधि लग्न निर्देशन दिए पनि रेग्मीले छ जना मात्र प्रतिनिधि लगेर एक करोड रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ।


रेग्मीले दुई महिनाअगाडि लण्डनमा आयोजित डब्लुटीएम सम्मेलनबाट फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायव सुब्बा सुमन थापालाई थप्पड हानेका थिए। भन्साररहित सुविधाअन्तर्गत एकजनाले विमानस्थल भएर बाहिरबाट आउँदा एक लिटरसम्मको एउटा बोटल मात्र मदिरा ल्याउन पाइन्छ। तर रेग्मीले ६ बोटल मदिरा ल्याएका थिए। सोही क्रममा भन्सार कर्मचारीले उनलाई रोकेपछि उनले थप्पड हानेका थिए। त्यतिखेर रेग्मीले आफूले ल्याएको मदिरा सचिव, मन्त्रीको भएको जिकिर गरेका थिए।गत पुसमा पर्यटन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा सिइओ रेग्मीमाथि छानबिन गर्न उपसमिति गठन गर्दै रेग्मीलाई निलम्बन गरेको थियो। बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो।

यसैगरी उनलाई सुन तस्करीमा पनि संलग्न देखिएको छ। उनले कर्मचारीलाई पनि काम गर्ने वातावारण नै भंग बनाएको उल्लेख गरिएको छ। चार वर्ष अगाडि २०७४ पौष ७ मा कतार एयरवेजको उडानमार्फत तीस ग्राम सुन ल्याइएको प्रतिवेदनमा उल्लेख छ। जसअनुसार त्यतिबेला उनलाई बिगोबमोजिम एक लाख ४० हजार रुपैयाँ जरिवाना तिराइएको थियो।


कर्मचारीलाई एकमुष्ठ हटाउँदै अर्को कर्मचरी राख्दै गरेको फेला परेको पनि प्रतिवेदनमा उल्लेख छ। प्रत्येक प्रदेशमा बोर्डको कार्यालय खोल्न एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो। पर्यटन मन्त्री योगेश भट्टराई हुँदा भएको यस्तो निर्णयकै आडमा उनले कर्मचारीलाई सरुवा गरेका थिए। सिइओ रेग्मी सँग पुनः स्पष्टीकरण लिएर कारवाही गर्ने तयारी रहेको उपसमितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..