सिमरा । सिमरा विमानस्थलबाट २ लाख रुपैयाँ भारतीय रुपैयाँ (भारु) सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालमा प्रतिबन्ध गरिएको भारतीय रुपैयाँ २ लाखसहित भारतको विहार नवाधा थाना अक्बरपुर का ३८ वर्षीय शिवशंकर बब्लु आइतबार पक्राउ परेका हुन् ।बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिमरा विमानस्थलबाट शिवशंकरलाई २ लाख भारतीय रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मुलुकको केन्द्रीय बैंकले नेपालभरी भारतीय रुपैयाँ (भारु) १ सयभन्दा माथि दरका सबै नोट कारोबारमा प्रतिबन्ध लगाएको छ । नेपालमा भारतीय भारु १ सयभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्था बमोजिम ल्याउन, लैजान तथा सटही गर्न भने पाइने छ । त्यसभन्दा बढी दरको रकम बोक्न अथवा कारोबारमा पूर्ण रुपले प्रतिबन्द लगाइएको छ ।
इलाका प्रहरी कार्यलय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरका अनुसार डिपार्चर रुममा यात्रुहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई २ हजारका दरले १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगद सहित पक्राउ गरिएको थियो ।
बरामद नगद सहित शिवशंकरलाई आवश्यक कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।नेपाल आउने भारतीयहरुलाई नेपालमा नोट प्रतिबन्ध भएको जानकारी नभएको कारणपनि यस्ता घटना हुनेगरेको छ।


