काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको शान्तिपूर्ण वातावरणमा बस्न पाउने अधिकारको रक्षा गर्न आवश्यक रहेको बताएका छन् ।सशस्त्र प्रहरी बलको २१औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले जनताको सुरक्षा र अधिकारको प्रत्याभूत गर्ने सरकारको दायित्व भएको भन्दै जनताप्रति प्रतिवद्ध भएर अघि बढ्ने बताएका हुन् ।
उनले हरेक अवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्र सेवकको वृद्धि विकासमा सरकारले सहयोग गर्ने र यसका लागि आवश्यक गृह कार्य गरिरहेको धारणा पनि राखे । उनले राष्ट्रिय सुरक्षाका रुपमा रहेको सीमा सुरक्षामा खटिएकोमा सशस्त्र प्रहरी बललाई धन्यवाद दिए ।
त्यस्तै उनले आउने स्थानीय तहको चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले कोरोना महामारीबाट जनताको जिवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको भन्दै अर्थतन्त्रमा असर पर्न नदिन अहिले स्मार्ट लकडाउन गरिएको बताए ।भीड नियन्त्रण गरेर संक्रमितको पहिचान गर्न सरकार गम्भीर रहेको र सशस्त्र प्रहरी बलले पनि कोरोना रोकथाममा भूमिका खेलेको उनले बताए ।
त्यस्तै सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले राज्यको दायित्वलाई संगठनले सदैव प्राथमिकताका साथ निर्वाह गरेको जानकारी दिए ।मुलुकको सीमा सुरक्षाका लागि उत्तरदेखि दक्षिणसम्म नै सक्रिय रुपमा अहोरात्र खटिएको उनले बताए । उनले नेपालको सीमा क्षेत्रलाई व्यवस्थीत गर्नका लागि प्रतिबद्ध भएर लागेको बताए ।


