काठमाडौं। झण्डै नौ वर्ष नेपाल गुणस्तर तथा नापतौल विभागमा बसेका विश्वबाबु पुडासैनीको वाग्मती प्रदेशमा सरुवा भएको छ। दुई वर्ष उपमहानिर्देशक र सात वर्ष महानिर्देशकको रुपमा पुडासैनीले विभागमा बिताएका थिए।
९ वर्षको अवधिमा विभाग अन्तर्गतको ऐन नियमलाई समयसापेक्ष सुधार गर्दै काम कारवाहीलाई चुस्तदुरुस्त बनाएका थिए। नेपाल गुणस्तर मापदण्ड बनाउने र गुणस्तर मापदण्डको नियमन गर्ने निकायको रुपमा रहेको विभागमा आर्थिक अनियमितता झाँगिएको थियो।
उद्योगी व्यवसायीसँग प्रत्यक्ष जोडिने भएकाले विगतमा विभागको काम कारवाहीमा समेत प्रश्न उठ्ने गर्थ्यो। उनी गएपछि विभागभित्रको काम कारवाहीलाई पारदर्शी बनाउने प्रयास गरेका थिए।
उनकै पालामा एलपीजी ग्यासको गुणस्तर मापदण्ड, स्ट्यान्डर्ड नापतौल ऐन, ४३ र ५३ ग्रेडका ओपीसी सिमेन्टका लागि छुट्टै नेपाल गुणस्तर मापदण्ड बनेको थियो। पहिला ३३ ओपीसी सिमेन्टको मात्र नेपाल गुणस्तर मापदण्ड थियो।


