काठमाडौं । अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्दैछ । जहाँ एससीसी नेपाल सम्झौताबारे छलफल हुने कार्यसूची छ ।नेपालको संसद्मा एमसीसी टेबल हुन नसकिरहेका बेला वासिङटन डीसीस्थित मुख्यालयले डिसेम्बर १४ मा बोर्ड बैठक बोलाएको हो । तर, संयोग के छ भने एमसीसीबारे बोर्ड बैठक बसेकै दिन संघीय संसदका दुवै सदनको बैठक बस्दै छ ।
हिजो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन आह्व गर्नुभएको छ । एमसीसी मुख्यालयले गत मंगलबार नै कार्यसूची सार्वजनिक गरेको थियो ।


राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संसद अधिवेशनको आह्वन गर्नुभएको हो । संसदका दुवै सदनको बैठक डाक्नुको कारण सरकारले खुलाएको छैन । तर, अधिवेशनमा एमसीसी प्रस्ताव अगाडि बढाउने सम्भावना रहेको छ ।
नेपालका राजनीतिक दलबीच तालमेल नमिल्दा संसदबाट एमसीसी पारित गर्ने प्रक्रि या अवरुद्द छ । एमसीसीबारे दलहरु विभाजित भइरहेका बेला बस्न लागेको बैठकले नेपाल कम्प्याक्टबारे महत्वपूर्ण निर्णय लिन सक्ने जनाइएको छ ।
केही साताअघि नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी कम्प्याक्ट सम्झौता तत्काल संसदबाट अनुमोदन गर्न नेपालका प्रमुख राजनीतिक नेताहरुलाई आग्रह गरेका थिए । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले पनि गत भदौ २४ गते नेपाल आएर संसदबाट अनुमोदन हुन भइरहेको ढिलाइबारे शीर्ष नेताहरुसँग छलफल गरेकी थिइन् ।
विसं २०७४ भदौ २९ गते तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका तर्फबाट वासिङटन डीसीमा एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुभएकाे थियाे ।