गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने

मोरङ । अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइने तयारी गरिएको छ । कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गर्ने निर्णयसँगै गिरी पुनः मोरङ कारागार आउने भएका हुन् । उनलाई आज मोरङ कारागार ल्याइने तयारी छ ।

कारागार व्यवस्था विभागले गिरीलाई सप्तरीबाट फेरि विराटनगर स्थानान्तरण गरिएको जानकारी पत्र मोरङ कारागार प्रशासनलाई पठाएको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । सप्तरी पठाएको १६ दिनपछि उनको विराटनगर सरुवा भएको हो । कांग्रेसनिकट गिरी विराटनगर बासी हुन् । यसअघि मोरङ कारागारमा रहँदा गिरीले जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २०७४ चैत २३ गते डिल्लीबजार कारागार सारिएको थियो । २०७८ कात्तिक १६ गते डिल्लीबजार कारागारबाट मोरङ ल्याइएका गिरीलाई कैदीबन्दीको अवरोधपछि जिल्ला कारागार सप्तरी पठाइएको थियो ।

नेपाली काङ्ग्रेस नेताहरुको दबावमा गिरीलाई मोरङ पठाउने निर्णय भएको बताइन्छ । कैदीबन्दीको विरोधपछि कात्तिक १६ गते बिहानमात्रै उनलाई विराटनगर ल्याइयो । गिरीलाई ल्याएपछि कारागारभित्र कैदीबन्दी र बाहिर कैदीबन्दीको आफन्तले प्रदर्शन गरे । स्थिति असामान्य बनेपछि उनलाई सोही दिन सप्तरी सरुवा गरिएको थियो। सप्तरीबाट मोरङ आउने तयारी गरेपछि गिरीलाई ल्याउन नहुने भन्दै कैदीबन्दीले कारागार व्यवस्था विभागमा निवेदन दिएका थिए । तर सप्तरीबाट १७ दिनमै विराटनगर सरुवा भएको हो ।

गत कात्तिक १६ गते गिरीले कारागारमा प्रवेश नपाएपछि गिरीकै योजनामा कात्तिक २४ गते झडप भएको थियो । झडपमा गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित ६ जना घाइते भएका थिए । झडपपछि गिरीको विपक्षमा रहेका चौकीदारसहित १४ जना नाइकेको सरुवा भएको थियो । गुरुङको सरुवापछि गिरीको पक्षमा रहेका कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको थियो । चौकीदारको जिम्मेवारी पाएपछि कामत पनि गिरीलाई प्रवेश गर्न नदिने पक्षमा उभिएका छन् ।

विराटनगरमा रहँदा गुण्डागर्दी गरेपछि अभिषेक गिरीको २०७४ साल चैत २३ गते डिल्लीबजार स्थानान्तरण भएको थियो । उनको सरुवा पछि नवीन राईलाई चौकीदारको जिम्मेवारी दिइएको थियो । पुनः गिरीलाई मोरङ ल्याइने भएपछि राईलाई गत असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरिएको थियो ।

राईलाई झुम्का लगिएपछि किरण गुरुङलाई मोरङ कारागारमा अर्को व्यवस्था नभएसम्मका लागि चौकीदारको जिम्मेवारी दिइएको थियो । उनको पनि सरुवा भएपछि कार्तिक कामतलाई जिम्मेवारी दिइएको हो । गिरी विराटनगर आए चौकीदारको जिम्मेवारी उनले नै पाउनेछन् । दुई सय ५० जना क्षमता रहेको कारागारमा नौ सय ५३ कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..