काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार ९ वटा इजलास तोकिएका छन् । विभिन्न मुद्दाका लागि इजलास तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई कुनै पनि इजलासमा राखेका छैनन् । बिहीबार २५९ वटा मुद्दा पेसीमा राखिएको छ । न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ नगर्ने घोषणा गरेका छन् । यद्यपि, पेसीमा विभिन्न मुद्दालाई समावेश गरिएको छ ।
प्रधानन्यायाधीश जबराले बिहीबार नै ‘ फुलकोर्ट’ राख्ने तयारीसमेत गरेका छन् । सर्वोच्चका अन्य न्यायाधीशले फुलकोर्ट राखेर नियमावली संशोधन गरी गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रियाका लागि दबाब दिँदै आएका थिए ।बिहीबार दिउँसो २ बजे बस्नेगरि फुलकोर्ट बोलाइएको मुख्य रजिस्ट्रार लालबाबु कुँवरले जानकारी दिए। बैठकमा प्रधानन्यायाधीश सहित २० जना बस्ने छन्।यसअघि बुधबार सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरुले फुलकोर्ट बोलाउने सहमति गरेका थिए। न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति जनाउँदै फुलकोर्ट बोलाउने निर्णय गरेको थियो। नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरुबीच सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि फुटकोर्ट बोलाउन आग्रह गर्ने निर्णय गरेका थिए। सामूहिक छलफलमा रहेका ती न्यायाधीशका अनुसार बुधबार बसेको प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको बैठकमा नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको हो। जसमा इजलास तोक्न गोलाप्रथा लागू गर्नेलगायतका विषय रहेका छन्।उक्त सहमतिसँगै १४ न्यायाधीशहरूले मुख्य रजिष्ट्रारलाई बिहीबारका लागि फुलकोर्ट राख्न निर्देशन दिएका थिए। उनीहरुले मुख्य रजिष्ट्रारलाई निर्देशन दिएपछि प्रधानन्यायाधीश राणाले फुलकोर्ट आह्वान गरेका हुन्।
न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधनसम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताउँदै आएका छन्।
उनीहरुले गोलाबाट पेसी तोकेर इजलास सुरु गरे पनि प्रधानन्यायाधीश जबरासँग भने इजलास सेयर नगर्ने सहमति गरेका छन्।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई अन्य न्यायाधीशहरु र बार एशोसिएसनले केही सातादेखि राजीनामाका लागि दिँदै आएका छन् ।


