काठमाडौं । प्रहरीले काठमाडौंमै नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिन र बजारमा पुग्ने तयारीमा रहेको लाखौं नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार साँझको समयमा काठमाडौं गोकर्णेश्वर दक्षिण ढोकाबाट नक्कली नेपाली रुपैयाँ साटन हिँडेकी गोमा श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनका साथबाट बरामद नक्कली नोटको स्रोत खोज्नेक्रममा घटनामा संलग्न उनी सहित पाँचजना पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गोमाले रकम नारायणटार स्थित उनको नातेदार पुष्पा थापा मगरबाट प्राप्त गरेको खुलाएकी थिइन् ।
प्रहरीले पुष्पाको कोठामा खानतलासीगर्दा नोट बनाउनको लागी प्रिन्ट गरी पैसाको आकारमा काटेर राखेको अवस्थामा नक्कली जस्तो देखीने नोटहरु फेला पारेको थियो । उनी मार्फत यो सञ्जाललाई पच्छयाउनेक्रममा घटनामा संलग्न चिरन्जिवी जोती र सुजन जोतीको समेत संलग्नता रहेको भन्ने खुल्न आएकोले उनीहरुलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धनकाक्रममा नक्कली नोटहरु काठमाण्डौं कपनस्थित पुष्पाको छोरा समरोज थापा मगरले आफु बस्ने कोठाबाट छाप्ने गरेको खुलेको थियो । प्रहरीले समरोजको कोठामा खानतलासीगर्दा उनको कोठा भित्र समेत तयारी गरी राखेको अवस्थाको १०० दरको नक्कली जस्तो देखीने नोटहरु र नोटहरु बनाउनकै लागी रंगिन प्रिन्ट गरी राखिएको अवस्थाको रंगिन प्रिन्ट कागजहरु फेला परेको थियो । अनुसन्धानकाक्रममा आरोपीहरुले दिएको बयानमा यसअघि पनि धेरै नोटहरु बनाएर बजारमा पठाएको खुलेको प्रहरीले जनाएको छ ।
परिसरका अनुसार पक्राउ परेका पाँचैजनाको डेराकोठाबाट नक्कली जस्तो देखीने तयारी अवस्थाको १०० दरको नोट थान १६६, १००० दरको नोट थान ३६, नोट बनाउनको लागी प्रिन्ट गरी काटेर राखेको अवस्थामा रहेको अगाडीको भाग मात्रको १००० दरको थान ११६ र पछाडीको भागको थान ९२, नोट बनाउनको लागी प्रिन्ट गरी काटेर राखेको अवस्थामा रहेको अगाडीको भाग मात्रको ५०० दरको थान ५६ र पछाडीको भागको थान ५६ बरामद भएको छ । यस्तै पेपर, कलर प्रिन्टर र नोट बनाउन प्रयोग हुने केमिकल समेत बरामद भएको छ ।


