काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजी सहकुलबहादुर थापालाई एआइजीमा बढुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले थापालाई एआइजी बढुवा गरेको हो । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले असार १४ गते थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । भावी आइजीपी पदका लागि एआइजी विश्वराज पोखरेल एक्ला धावकका रुपमा देखिएकोमा थापाको बढुवासँगै प्रतिस्पर्धा हुने भएको छ । पोखरेलको विनाप्रतिस्पर्धा आइजीपी हुने योजना थापाको बढुवासँगै तुहिएको छ ।
यसअघि सरकारले एआइजीको दरबन्दी थप गरी थापाकै समूहका पोखरेललाई एआईजीमा बढुवा गरेको थियो । पोखरेल एकमात्र दरबन्दी थप गरी जम्प हानेर एआइजी बढुवा भई भावी आइजीपी पदमा प्रतिस्पर्धा नै हुन नदिने खेलमा थिए । तर थापाको बढुवासँगै अब आइजीपीमा प्रतिस्पर्धा हुने भएको छ ।


