तनहुँ : पहिरो खसेपछि आफ्नै घर बन्यो काल गाउँभर शोक र त्रास

तनहुँ । दुई छोराछोरीलाई पढाउन बन्दीपुर गाउँपालिका वडा नं ३ तामुङकी सरस्वती थापा डुम्रे बजार झरिन् । बुढा ससुरा, सासुआमा र देवर भएको परिवारबाट टाढिने उनको रहर होइन, बाध्यता थियो । नेपाली सेनामा कार्यरत उनका श्रीमानले जसोतसो आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन बजार झरेका हुन् ।

परिवारबाट टाढा भए पनि आफनो गाँउघरको कर्म उनले बिर्सिएकी थिईनन् । असार होस् वा मंसिर, रोपाइँ गर्न सरस्वती गाँउ उक्लन्थिन् । यसपालि पनि पानी पर्न थालेपछि छोराछोरीलाई कोठामै राखेर रोपाइँ गर्न उनी असार १५ मा गाँउ गइन् । मंगलबार र बुधबार रोपाइँ गरेकी सरस्वती बिहीबार रोपाइँ सकेर बेलुका डुम्रे फर्किने सोचमा थिइन् । तर बुधबार रातिदेखि परेको अविरल वर्षा उनका लागि काल बनेर पस्याे ।


अचानक घरमाथिबाट आएको पहिरोले घर पुरिँदा सरस्वतीकाे ज्यान गयो । बिहीबार बिहान अन्दाजी साढे तीन बजे आएको पहिरोमा परी घरका सबै सदस्य पुरिए । झण्डै एक घण्टापछि स्थानीय गाँउलेले उद्धार गर्ने क्रममा सरस्वती मृत भेटिइन् भने परिवारका अन्य सदस्य घाइते अवस्थामा । घाइतेलाई उपचारका लागि दमौलीस्थित जिल्ला अस्पतालमा ल्याइयो ।


पहिरोमा परी सरस्वती थापाका ६६ वर्षीय ससुरा दिलबहादुर थापामगर, ५८ वर्षीया सासुआमा दाउरीमाया थापामगर र २६ वर्षीय देवर सुवास थापामगर घाइते भएका छन् । घाइतेहरुको दमौली अस्पतालमा सामान्य उपचार पश्चात पोखरा रिफर गरिएको छ ।सरस्वतीका देवर सुवासले भने, “पोहर गोठमा पहिरो गएको थियो । यसपालि पहिरोले घरै भत्काउँदा परिवारकै सदस्य गुमाउनुपर्यो ।”

गाउँमा शोक र त्रास

पहिरोले सोही ठाँउको अर्को घर भत्किँदा ७० वर्षीया हरिमाया बसेलको पनि ज्यान गएकाे छ । एउटै गाँउका दुई जनाको मुत्यु भएपछि गाउँ नै शोकमा छ, त्रासमा छ । बन्दीपुरकै ५ नम्बर वडामा पनि ३ घर पहिरोले पुरिएका छन् भने ८ घर विस्थापित भएकाे गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार ‘१ नम्बर वडामा पनि ८ वटा घर पुरिएका छन् भने १८ भन्दा बढी घर विस्थापित भएका छन् ।

त्यस्तै जिल्लाकै व्यास नगरपालिकाको छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाइदिएको छ । व्यास १ र १३ जोड्ने पक्की पुल बाढीले बगाएका कारण आवतजावत ठप्प छ । शुक्लागण्डकी नगरपालिका वडा नं ९ स्थित सिम्लेमा पहिरोले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय नाति विज्ञान भुजेलको जिवितै उद्धार गरि पोखरा स्थित गण्डकी मेडीकल कलेजमा उपचार गरिएको छ ।


पहिरोले भुजेलका ९ बाख्रा र एक भैँसी पनि मरेका छन् । सोही वडाका टेक बहादुर महतको गोठमाथिबाट आएको पहिरोले १० बाख्रा र एक भैँसी मरे । वडाअध्यक्ष रेग्मीका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ ।


म्याग्दे गाँउपालिका वडा नं ५ मा पनि पहिरोमा परी बाबुछोरा घाइते भएका छन् । पाँच कोठाको ब्लकले बनेको घरमा माथिबाट खसेको पहिरोले लागि ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका २५ वर्षीय छोरा रोजन परियार घाईते भएका हुन् । दुबै जनाको भिमाद पोलिक्लिनिकमा उपचार भईरहेको छ ।

पृथ्वी राजमार्ग १२ घण्टापछि एकतर्फी सुचारु

यता, पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग १२ घण्टापछि एकतर्फी सूचारु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, डुम्रे, बन्दीपुर गाउँपालिका–५ याम्पामा गएको पहिरोहरु हटाएर एकतर्फी सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।सडकमा पहिरो गएपछि बिहीबार बिहान २ः३० देखि विहीबार दिउँसो २ः३० बजेसम्म पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको थियाे ।

डोजरले पहिरो हटाएर सुचारू गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सहायक मार्गहरु डुम्रे-वेँशीसहर र खैरेनीटार-भिमाद एवं बुद्धसिंह मार्गमा पनि पहिरालेले सडक अवरुद्ध भएको छ ।
डुम्रे-बेँसीसहर सडक खण्डमा भानु नगरपालिका–१ को भन्सार र वडा नम्बर ८ को पाँच सय फाँटमा पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको उनले बताए । ती स्थानमा पहिरोलाई डोजरले हटाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..