काठमाडौं । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् ।
कुटाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटना बिहीबारकै भए पनि प्रहरीले अझै घटना बाहिर ल्याएको छैन । दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए ।
‘केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन’ उनले भने, ‘ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन ।’
कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि घटनाबारे जानकारी पाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले पीडित युवकको स्वास्थ्य जाँच गरिएको र घटनामा संलग्नको आरोपमा ५० वर्षका राजदेव गिरी र अरु २ जना पक्राउ परेको बताए । ‘घटनाको बारेमा पीडितले अहिलेसम्म उजुरी गरेका छैनन् ।
हामीले ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दैछौं’ उनले भने ।
युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयको दावी छ ।


