प्रहरीलाई गृहको धक्का

काठमाडौं । प्रहरी नियमावली संशोधन प्रक्रियाले नेपाल प्रहरीको तल्लो तहमा उत्साह देखिएको थियो । तर, यससम्बन्धि पछिल्लो खबर प्रहरीलाई निराश बनाउने खालको छ । गृह मन्त्रालय तत्काल नियमावली संशोधनको विपक्षमा उभिएको छ ।

प्रहरी नियमावली संशोधनमा मुख्य चासोको विषय प्रहरी नायब निरीक्षक(सइ)बाट प्रहरी निरीक्षक(इन्सपेक्टर)मा बढुवासम्बन्धी छ । सइबाट इन्सपेक्टर बढुवामा जाम भएकाले तत्कालका लागि रिक्तमध्ये सबै पद बढुवाबाट पदपूर्ति गर्ने प्रहरीको प्रस्ताव थियो । गत वर्षकै इन्सपेक्टर भर्ना प्रक्रिया पूरा नभएकाले यसपटक रिक्त रहेका करिब एक सय पदमा नै पदपूर्ति गरे जाम केही कम हुने प्रहरी नेतृत्वको मूल्याङकन थियो ।

सोहीअनुसार नियमावलीमा विशेष व्यवस्था राख्न लागिएको छ । तर, गृहले यस विषयलाई तत्काल रोकेको छ । स्रोतका अनुसार पुरानै प्रावधानअनुसार बढुवा अघि बढाउने गृहका उच्च अधिकारीको तयारी छ । जसअनुसार करिब ४० जना मात्र बढुवा हुने छन् । जबकि १५ वर्ष पुराना तीन सय भन्दा धेरै सइ बढुवाको दौडमा छन् ।


सुरुमा इन्सपेक्टरमा बढुवाबाट ६० प्रतिशत तथा भर्नाबाट ४० प्रतिशत पदपूर्ति गर्नेबारे छलफल भएको थियो । तर, अन्तर्राष्ट्रिय मापदण्डविपरीत हुने कुरा आएपछि यो प्रस्ताव रोकिएको थियो । यस्ता पदमा नयाँ युवालाई धेरै लिदा नै संगठनलाई फाइदा हुने विश्वभरि चलेको मापदण्ड भएकाले यसमा हेरफेर नगर्ने सहमति बनेको हो ।


यो अवस्थामा अब सइबाट इन्सपेक्टर हुन २० वर्ष लाग्ने अवस्था आउने भएको छ । यसको विकल्प सइ र इन्सपेक्टरको बीचमा जुनियर इन्सपेक्टर पदको सिर्जना अत्यावश्यक देखिएको छ । नत्र प्रहरीको मेरुदण्डका रुपमा रहेका जुनियर अधिकृतहरुमा झनै निराशा बढ्ने निश्चित छ । यसको अप्रत्यक्ष असर शान्ति सुरक्षा र अपराध अनुसन्धानमा समेत पर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरी नियमावली संशोधनसम्बन्धि प्रस्तावमा अन्य केही विषयहरु समेत रहेको गृह मन्त्रालय स्रोत बताउँछ । बढुवामा मूल्याङकनसम्बन्धि प्रावधानलाई समेत वस्तुगत बनाउन मूल्याङकनको फारम समेत हेरफेर गर्न लागिएको थियो । तर, नियमावली संशोधन नहुने सम्भावना बढेको मन्त्रालय स्रोत बताउँछ । प्रहरीका सुधार प्रयासमा पटक पटक गृहले असहयोग गर्दै आएको प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..