एजेन्सी । बुधबार अमेरिकी संसदमा हमला भएसँगै घटनाकाे विश्वव्यापी आलाेचना भइरहेकाे छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्धारित कार्यकाल पूरा नहुँदै पदबाट हटाउने तयारी भएको बताइएकाे छ ।
समाचार एजेन्सीहरूका अनुसार ट्रम्पलाई तत्कालै पदबाट हटाएर उनको ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिने तयारी सुरु गरिएको छ । नवनिर्वाचित राष्ट्रपतिका दाबेदार जाेइ बाइडेनलाइ राष्ट्रपति प्रमाणित गर्ने कार्य त्यहाँकाे संसद (सिनेट)मा बहस चलिरहेकाे छ । साे बेला ट्रम्प समर्थकहरूले संसदमै हमला गरेका थिए ।



अमेरिकी समाचार आउटलेट टिएमजेड जनाए अनुसार अमेरिकी संविधानमा उपराष्ट्रपतिले राष्ट्रपतिलाई पदबाट हटाउन सकने अधिकार छ । साेही अनुसार ट्रम्पलाइ हटाएर केही दिनका लागि भए पनि उपराष्ट्रपति माइक पेन्सलाई कार्यवाहक राष्ट्रपति बन्ने तयारी भइरहेकाे बताइएकाे छ । ट्रम्पको कार्यकाल उसै पनि यही जनवरी २० मा पूरा हुँदैछ ।
बुधबार अमेरिकी संसदको संयुक्त बैठक चलिरहँदा ट्रम्प समर्थकले संसदभित्रै पसेर आक्रमण गरेपछि बैठक अवरूद्ध भएकाे थियाे । भिड प्रवेश गरेर अवरुद्ध भएको अमेरिकी संसद्मा बैठक पुनः सुरु भइसकको बिबिसीले जनाएकाे छ ।

अमेरिकी संसद् रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि उक्त बैठक पुनः सुरु भएको हो । उक्त बैठकमा राष्ट्रपति-निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ ।
तर, सांसदहरुले बुधबारको हिंसालाई लिएर ट्रम्पलाई त्यसभन्दा पहिल्यै पदबाट हटाउने तयारी थालेकाे बताइएकाे छ । राजधानी डिसीको अज्ञात स्थलमा अहिले बैठक जारी रहेको र बैठकमा कंग्रेस सदस्य तथा सिनेटरहरुले संविधानको धारा २५ प्रयोग गरेर राष्ट्रपतिलाई पदबाट हटाउने विषयमा छलफल गरिरहेको रिपोर्टमा जनाइएको छ ।