एसपी पंजियार सहित ११ जना एसएसपीमा बढुवा हुँदै

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियार सहित ११ जना प्रहरी उपरीक्षकहरुलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने तयारी थालिएको छ । पुस १३ मा गृह मन्त्रालयले ९ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । एक सातासम्म कुनै उजुरी नपरेपछि डिआईजी बढुवा पूर्ण भएको छ ।

डिआईजीको अन्तिम सूची प्रकाशन गरेपछि तत्काल योग्यता पुगेका प्रहरी उपरीक्षकहरुलाई एसएसपीमा बढुवा सिफारिस गरिने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

अहिले एसएसपीको ९ पद रिक्त छ । तर, पुस २९ मा दुईजना एसएसपी अवकाशमा जाँदै छन् । प्रहरी प्रधान कार्यालयका अनुसार डा.गणेश रेग्मी र राजकुमार बैदवार ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेका हुन् । उनीहरु ०४७ माघमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

अवकाश हुनुभन्दा एक साताअघि बढुवा समितीले अवकास भइजाने बाहेकलाई बढुवा सिफारिस गर्न सक्छ । रिक्त हुने दुई सिटसहित ११ जना एसएसपीमा बढुवा हुँदैछन् ।

प्रतिस्पर्धामा को–को ?

काँधमा एसएसपीको फुली लाउन पाउने आकाङ्क्षामा सिनियर ब्याचका १३ जना प्रहरी उपरीक्षकहरु छन् । ०५१ मा प्रहरीमा सेवा प्रवेश गरेका विकासराज खनाल, कृष्ण कुमार महत, अर्जुनचन्द ठकुरी, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, मधुसुदन लुईटेल, मोहन पोखरेल र ध्रुवराज राउत एसएसपी बन्ने प्रतिस्पर्धामा छन् ।

सोही ब्याचका गोविन्द शाह, उमाशंकर पञ्जियार, सुरेन्द्र मैनाली, योगबहादुर पाल र टीका बहादुर केसी पनि एसएसपीका प्रतिस्पर्धी हुन् । प्रतिस्पर्धी गोविन्द शाहमाथि जिल्ला प्रहरी कार्यालय पर्सामा बस्दा राजस्व संकलनमा नै दखल पुग्नेगरी तस्करी गराएको आरोप छ । काँग्रेस नेता विमलेन्द्र निधिका निकट मानिने शाहलाई ‘तस्करी गराएको’ आरोपमा अवधि नपुग्दै पर्साबाट तानिएको थियो ।

उमशंकर पञ्जियार माओवादी युद्धकालमा जागिर छाडेर घरमा बसेका थिए । पछि, अदालतको आदेशले उनी प्रहरी सेवामा फर्किएका हुन् । बढुवा प्रतिस्पर्धी योगबहादुर पाल र टिका बहादुर केसी गुप्तचर (राष्ट्रिय अनुसन्धान विभाग)बाट नेपाल प्रहरीमा आएका हुन् ।

०५४ सालमा सेवा प्रवेश गरेका प्रहरी अधिकृतले पनि बढुवाको आकांक्षा राखेका छन् । यद्यपि उनिहरुलाई बढुवा नगर्ने प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले अडान लिएका छन् । यसअघि पनि थापाले सिनियारिटी मिचेर बढुवा नदिने नीति लिँदै आएका थिए ।

पछिल्लो ब्याचबाट सिद्धिविक्रम शाह, दानबहादुर कार्की, ईश्वर कार्की, सुशिल सिंह राठौर र ओम राना लगायतका अधिकृत एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् ।

गृह–सचिव, कर्मचारी प्रशासन शाखाका सह–सचिव र प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही सदस्य–सचिव रहने बढुवा समितिले एसएसपी बढुवा सिफारिस गर्ने कानुनी प्रावधान छ ।

दुई एसपी अवकासमा जाँदै

०४७ माघमा प्रहरी सहायक निरीक्षक (असई)बाट सेवा प्रवेश गरेका दुईजना एसपी पनि अवकासमा जाँदै छन् । प्रहरी उपरिक्षक राजेन्द्र विष्ट र रमेश थापा पुस २९ मा अवकाशमा जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..