धनुषा । प्रधानमन्त्री केपी शर्मा ओली समूहले धनुषाको जनकपुरमा शक्ति प्रदर्शन सुरु गरेको छ । जनकपुरको रेल्वे स्टेसनदेखि नेकपा प्रदेश कार्यालयसम्म नारबाजीसहितको प्रदर्शन भैरहेको छ । अब केहीबेरमा कोणसभा सुरु हुने जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को प्रचण्ड – माधव नेपाल पक्षले जनकपुरधाममा शक्ति प्रदर्शन गरेपछि आज ओली पक्षले शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनमा बालबालिकालाई समेत नेकपाको सूर्य छाप झण्डा बोकाएर र्यालीमा सहभागी गराइएको छ ।

उता, संसदीय दलको बैठकका लागि सभासदहरु जम्मा हुने क्रम जारी छ । सत्तारुढ दल नेकपामा विभाजन आएपछि पछिल्ला दिन ओली पक्ष र प्रचण्ड–माधव पक्षको प्रदर्शन जारी छ ।
मंगलबार नेकपाको आली पक्षले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाभन्दा पूर्व आफ्नो पक्षको नेता तथा कार्यकर्ताहरुले उतारेर शक्ति प्रदर्शन गरेको छ । ओली पक्षले निकालेको जुलुशमा दर्जनौँ बालबालिकाहरुले नेकपाको झण्डा र सूर्य चुनाव चिन्ह अंकित झण्डा बोकेर नारा लगाई रहेका थिए । जुलुशमा १० वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरु नेकपाको पक्षमा नारा लगाउँदै देखिएका थिए ।

धनुषाको विभिन्न स्थानिय तहबाट आफ्नो कार्यकर्ताहरुलाई ल्याई जनकपुरधाम स्थित रेल्वे स्टेशनबाट विभिन्न चोकमा र्याली निकाली नेकपाको ओली पक्षले शक्ति प्रदर्शन गरेर प्रदेश पार्टी कार्यालय पुगेको छ ।

उक्त अगुवा भेला कार्यक्रममा उपप्रधानमन्त्री ईश्वरपोखरेल, महिला तथा बालबालिका मन्त्री जुली महासेठ लगायतका वक्ताहरु रहेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेपछि जनकपुरधाममा सबै पार्टी सक्रिय भई शक्ति प्रदर्शन सुरु गरेका छन् ।
