सशस्त्र प्रहरीमा डीआईजी बढुवा गर्दा एक पद रिक्त किन ? माघदेखि २ मात्रै एआइजी

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले बिहीबार सशस्त्रका ६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई डिआइजी बढुवाका लागि सिफारिस गर्‍यो।

सशस्त्रमा रिक्त डिआइजीको संख्या ७ थियो। जसका लागि दर्जनभन्दा बढी एसएसपी प्रतिस्पर्धी थिए। तर दर्जनौं एसएसपी प्रतिस्पर्धी भए पनि एक पद रिक्त राख्दै गृहमन्त्रालयले ६ जना एसएसपीलाई मात्रै डिआइजी बढुवाका लागि सिफारिस गर्‍यो।

बढुवा समितिले कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्बाङलाई डिआइजीका सिफारिस गरेको छ।

तर डिआइजी बढुवाका लागि उनीहरुसँगै कालीदास धौबजी र कुमार न्यौपाने, विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री र प्रकाश श्रेष्ठलगायत एसएसपी प्रतिस्पर्धी थिए।

अहिले बढुवा सिफारिसमा भएका ६ जना २०७३ र २०७४ सालमा एसएसपी भएकाहरु छन्। बढुवामा छुटेकाहरु भने २०७५ सालमा एसएसपी भएकाहरु हुन्। प्रतिस्पर्धी नै दर्जनौं भएको अवस्थामा एक पद रिक्त राख्दै बढुवा किन गरियो ? यो प्रश्न निकै पेचिलो छ ।

सशस्त्र प्रहरी स्रोत भन्छ, ‘अहिले सात जना नै बढुवा गर्दा एक एसएसपी २०७५ मा बढुवा भएको ब्याचबाट ल्याउनु पर्ने हुन्छ। २०७५ बाट बढुवा गर्दा दाबेदार एसएसपी भने केही दिनमै अनिवार्य अवकाशमा जाँदैछन् । बढुवा भएको १५ दिनमै अवकाशमा जाने भएपछि एक पद रिक्त राखेरै बढुवा गरिएको हो।’

कालीदास धौबजी र कुमार न्यौपानेलगायत झण्डै दर्जन एसएसपीहरु पुस मसान्तमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्। अहिले बढुवा गरेको अवस्थामा १५ दिनमै अवकाशमा जाने भएपछि १५ दिनका लागि डिआइजीको फुली नदिइएको प्रहरी स्रोतको तर्क छ।

डिआइजीभन्दा माथि जाने अवस्था पनि रहँदैन र करिअरमा समेत असर नपर्ने भएकाले एक पद रिक्त राखेरै बढुवा गरिएको सशस्त्रको तर्क छ।

तर डिआइजी बढुवाको दाबेदारमै रहेका केही प्रहरी अधिकारी भने यो तर्कसँग सहमत छैनन्। दरबन्दी नै रिक्त राखेर बढुवा गर्नुले प्रतिस्पर्धी एसएसपीलाई न्याय नगरेको उनको तर्क छ। ‘१५ दिनका लागि बढुवा नगरिएको हो भने १५ दिनपछि अवकाशमा नजाने एसएससपी पनि डिआइजीको प्रतिस्पर्धामा थिए। उनीहरुबाट पनि डिआइजी बढुवा गर्न सकिन्थ्यो। तर यसरी बढुवा गर्दा भावी आइजीको एकल दाबेदार हुने भएकाले दरबन्दी नै रिक्त राखेर बढुवा गरिएको हो। यो राम्रो नजिर होइन’ एक बहालवाला एसएसपी नेपाल लाइभसँग भने।

सेवा अवधि लम्ब्याउन अन्तिम कसरत
सशस्त्रका दुई डिआइजी खड्ग राई र मन्दिप श्रेष्ठको माघमा डिआइजी भएको ४ वर्ष पुग्दैछ । डिआइजीको पदावधि ४ वर्ष भएकाले म्याद थप नभएको अवस्थामा उनीहरु अनिवार्य अवकाशमा जान्छन्।

चैतमा दुई एआइजी पुष्पराम केसी र रामशरण पौडलको पनि पनि म्याद थप नभएको अवस्थामा उनीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। अनिवार्य अवकाशमा जान लागेका डिआइजी र एआइजीहरु भने आफ्नो सेवा अवधि लम्ब्याउन अन्तिम कसरतमा लागेका छन्। एआइजी केसी र पौडलको म्याद थप नभएर आगामी चैतमा अवकाशमा गएको अवस्थामा दुई डिआइजीहरुलाई एआइजीमा बढुवा गर्नुपर्ने हुन्छ।

जसमा झण्डै एक वर्षअघि बढुवा भएका डिआइजी प्रवीण श्रेष्ठसँगै राजु अर्याल, नारायणदत्त पौडेल चन्द्रप्रकाश (सिपी) गौतम एआइजीका दाबेदार रहन्छन्।

उनीहरुमध्ये श्रेष्ठ आइजी भएको अवस्थामा हाल बढुवाको सिफारिसमा परेकामध्ये कमल गिरी र गणेशबहादुर ठाडामगर आइजीका दाबेदार रहन्छन् । उनीहरुसँगै बढुवा भएका अन्य भने ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान्छन्।

राई र श्रेष्ठको म्याद थप नभएको र चैतमा दुई डिआइजी एआइजी भएपछि डिआइजीको रिक्त संख्या ५ पुग्छ। किनकि अहिले नै एक डिआइजीको पद रिक्त हुन्छ। रिक्त ५ डिआइजीका लागि २०७५ मा एसएसपी बनेकाहरुबाट प्रतिस्पर्धा हुन्छ।

फोर्समा एक दिन अघि मात्रै बढुवा हुनुले पनि सिनियर र चेन अफ कमाण्डमा ठूलो असर पर्ने हुन्छ । जसकारण भावी आइजीका लागि एकल दाबेदार बन्न सक्ने अवस्थालाई पनि मध्यनजर गरेर अहिले एक दरवन्दी रिक्त राखेर बढुवा गर्नु स्वाभाविक रहेको बहालवाला एक डिआइजी बताउँछन्।

माघदेखि २ मात्रै एआइजी
आउँदो माघदेखि सशस्त्र प्रहरी बलमा दुई मात्रै एआइजी रहनेछन्। गृहमन्त्रालयले यसअघि नै सशस्त्रमा दुई एआइजीको दरबन्दी कायम गरेको थियो । तर त्यसबेला नारायणबाबु थापा, पुष्पराम केसी र रामशरण पौडेल गरी तीन एआइजी थिए।

सेवा अवधि नसकिएसम्मका लागि तीन जना नै एआइजी यथावत रहने भनिएको थियो। ३० वर्षे सेवा अवधिका कारण पुस अन्तिममा एआइजी नारायणबाबु थापा अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि माघदेखि भने सशस्त्रमा दुई मात्रै एआइजीको दरबन्दी कायम रहन्छ। सीमा सुरक्षा र मानव स्रोत विभागमा मात्रै एआइजीको दरबन्दी कायम गरिएको छ। अहिले सीमा सुरक्षामा रामशरण पौडल छन् भने मानव स्रोतमा पुष्पराम केसी छन् ।

विगतमा सशस्त्र प्रहरीमा ६ जनासम्म एआइजी थिए । कार्य, सीमा, अपरेशन, प्रशासन, प्राविधिक र एकेडेमीमा एआइजी प्रमुख रहन्थे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..