एजेन्सी । श्रीलङ्कामा प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा गरेका छन् ।
प्रधानमन्त्री विक्रमसिंघेले देशमा संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन साम्य हुन सकेको छैन् ।
आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बिबिसीले जनाएको छ ।
यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर माल्दिभ्स पुगेका छन् । राजापक्षे भागे लगत्तै विक्रमसिंघेले देशमा सङ्कटकाल घोषणा गरेका थिए ।
दक्षिण एशियामा अवस्थित श्रीलङ्का अभूतपूर्व आर्थिक सङ्कटमा फसेपछि चर्को आक्रोश उत्पन्न भएको छ । श्रीलङ्कामा महिनौँदेखि दैनिक विद्युत् कटौती हुने गरेको छ भने मानिसहरूले इन्धन, खानेकुरा तथा औषधिको अभाव भोग्नुपरेको
छ ।


