काठमाडौं । स्थानीय तहको चुनाव ३० वैशाखमा हुँदैछ । यहीबीचमा दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व फेरिँदैछ ।
एक हप्तापछि १९ वैशाखमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री र ३० चैतमा मात्रै आईजीपी नियुक्त भएका सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी पुष्पराम केसी अनिवार्य अवकाशमा जाँदैछन् ।


क्षेत्री र केसी दुवै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । सशस्त्र प्रहरीमा १९ वैशाखमा नियुक्त गर्ने गरी डीआईजी राजु अर्याललाई निर्विकल्प रूपमा अघि सारिएको छ ।
उनलाई ४ वैशाखमा बढुवा समितिले एआईजीका लागि सिफारिस गरेको छ । उनी आज एआईजीको फुली लगाएर त्यसको केही दिनमै सशस्त्रको आईजीको चारवर्षे कार्यकाल सम्हाल्नेछन् । तर, नेपाल प्रहरी आईजीपीको प्रतिस्पर्धा भने रोचक हुने देखिएको छ ।
आईजीपीको दौडमा १९ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सँगै सेवा सुरु गरेका एआईजी विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिस्पर्धामा छन् ।
प्रहरी उपरीक्षक (एसपी) सम्मको बढुवाको ट्र्याक रेकर्डअनुसार एआईजी सिंह एक नम्बरमा थिए । तर, एसएसपी बढुवा हुँदा पोखरेल एक नम्बरमा बढुवा भए भने थापा छुटे । एसएसपीमा केही समय ढिलो गरेर बढुवा भएका थापा, सिंह र धानुक एकैपल्ट २८ चैत २०७६ मा डीआईजी बढुवा भए ।
तर, पोखरेल भने डीआईजी सुशील भण्डारीको सडक दुर्घटनामा ज्यान गएपछि रिक्त रहेको दरबन्दीमा उनीहरूभन्दा पहिला नै १९ वैशाख २०७६ मा एकल बढुवा भए । पोखरेलको त्यो क्रम एआईजी हुँदासम्मै कायम रह्यो ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले बिनाप्रतिस्पर्धा आईजीपी बनाउने उद्देश्वसहित पोखरेललाई एआईजीको एक दरबन्दी नयाँ थप गरेर नै बढुवा गर्यो । एमाले नेता ईश्वर पोखरेलको जोडबलमा उनी एक वर्षअघि २४ मंसिर २०७७ मा एआईजी भएका थिए । त्यो बेला उनको बढुवाविरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी नै परेको थियो ।
समितिले ओली नेतृत्वको सरकारलाई पोखरेलको बढुवा कार्यान्वयन नगर्नसमेत निर्देशन दिएको थियो । तर, राज्य व्यवस्था समितिले निर्देशन दिएको भोलिपल्टै सरकारले पोखरेललाई एआईजीको फुली लगाइदिएको थियो ।
त्यसको केही महिनापछि फेरि थापालाई एमाले सरकारले नै एआईजीको अर्को दरबन्दी थप गरेर २१ असार २०७८ माबढुवा गरेको थियो । यो दौडमा सिंह र धानुक पछि परे । तर, हाल शेरबहादुर देउवा सरकारले ओलीकै शैलीमा एआईजीको तीन दरबन्दी थप गरेर १ चैतमा वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्यो । पन्त आईजीपी क्षेत्रीका ब्याची भएका कारण उनीसँगै अवकाशमा जानेछन् ।
तर, सिंह र धानुक भने पोखरेल र थापासँगै आईजीपीको प्रतिस्पर्धामा पुगेका छन् । पोखरेल र थापामाथि एमाले सरकारको पालामा बढुवा भएका कारण एमालेको ट्याग लागेको छ । जसका कारण पोखरेल र थापालाई रोकेर आफैँले बढुवा गरेका सिंह र धानुकमध्ये एक जनालाई आईजीपी नियुुक्त गर्ने कसरतमा प्रधानमन्त्री देउवा छन् ।
उनीहरूमध्ये आईजीपी नियुक्त हुने एआईजी नेपाल प्रहरीको २९औँ महानिरीक्षक बन्नेछन् । प्रहरी नियमावलीअनुसार एआईजीमध्ये एक जनालाई आईजीपी बढुवा गर्न सक्ने प्रावधान छ । एआईजी नभएको अवस्थामा डीआईजीबाट समेत आईजीपी नियुक्त गर्ने व्यवस्था नियमावलीले दिएको छ ।
यद्यपि आईजीपी पदमा नियुक्त गर्दा ज्येष्ठता, कार्यकुशलता, कार्यसम्पादन क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूमुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य हेरेर उचित ठानिएको उम्मेदवारलाई सरकारले बढुवा गर्ने व्यवस्था छ ।