काठमाडौं । सरकारले गत माघ १४ गते कोभिड–१९ विरुद्धको राष्ट्रिय खोप कार्यक्रम संचालन गर्यो। पहिलो प्राथमिकताको पहिलो चरणमा माग १४ गतेदेखि २४ गतेसम्म देशभरका १८६ वटा खोप केन्द्रमार्फत् स्वस्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरुलाई खोप लगाइयो।
माघ २६ गतेदेखि ३० गतेसम्म काठमाडौंका तीनवटा खोप केन्द्रमार्फत् कुटनितिज्ञहरु, राजदूतावासका कर्मचारीहरु, पत्रकार र अग्रपंक्तिमा खटिएका संयुक्त राष्ट्रसंघका कर्मचारीहरुलाई खोप लगाइयो।
पहिलो प्राथमिकताको दोस्रो चरणमा फागुन २ गतेदेखि २० गतेसम्म २२२ वटा खोप केन्द्रमार्फत् कर्मचारी, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई खोप लगाइएको छ।
पहिलो प्राथमिकताको खोप अभियानमा सरकारले करिव ९ लाख ११ हजार ३४२ जना अर्थात् नेपालको कुल जनसंख्याको ३ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको थियो। तर, भारत सरकारले पहिलो चरणमा १० लाख डोज खोप मात्र अनुदानमा उपलब्ध गराएपछि सरकारले पहिलो चरणमा ५ लाख ७ हजार ६०६ जनालाई खोप लगाउने योजना बनाएको थियो।
जसअनुसार पहिलो प्राथमिकताको अभियानमा ८४ दशमलब ६५ प्रतिशतले खोपको पहिलो डोज लगाए। अर्थात\ माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाइसकेका छन्।
यस्तै, फागुन २३ गतेदेखि सुरु हुने दोस्रो प्राथमिकताको खोप अभियानमा कुल जनसंख्याको १७ प्रतिशत अर्थात ५१ लाख ६४ हजार २६९ जनालाई खोपको पहिलो मात्र लगाइँदैछ।
नेपालमा कोरोनाविरुद्ध लगाइएको खोप दुई डोज लगाउनुपर्ने खोप विज्ञहरुले बताएका छन्।
खोपको पहिलो डोज पाइसकेका व्यक्तिहरुलाई दोस्रो डोजको खाप कहिले लगाइन्छ? धेरैको मनमा यही जिज्ञासा आइरहेको छ।
कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोगजक डाक्टर श्यामराज उप्रेतीका अनुसार एक पटकमा शून्य दशमलब ५ एमएल लगाइने यो खोपको दोस्रो डोज ८ हप्ताको फरकमा २ डोज लगाउनुप पर्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको पहिलो डोज लगाइसकेका व्यक्तिहरुका लागि दोस्रो डोज लगाउने मिति पनि तय गरिसकेको डा उप्रेतीले बताए।
उनले भने, ‘पहिलो प्राथमिकतामा माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो डोजको खोप लगाइसकेका व्यक्तिहरुले आगामी वैशाख ७ देखि १५ गतेसम्ममा खोपको दोस्रो डोज लगाउन पाउने छन्।’
यस्तै आगामी फागुन २३ गतेदेखि सुरु हुने दोस्रो प्राथमिकताका व्यक्तिहरुले पहिलो डोजको खोप लगाइसकेपछि आगामी जेठ १७ गतेदेखि असार ५ गतेभित्रमा दोस्रो डोज लगाउन पाउने डा उप्रेतीको भनाइ छ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका नामको बायोफार्मास्युट्रिकल कम्पनीले विकास गरेको हो। उक्त खोप भारतमा सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ। नेपालमा ल्याइएको खोप भारतको सेरमकै हो। यो खोपलाई विश्व स्वास्थ्य संगठनले पनि आकस्मिक प्रयोगको लागि स्वीकृती दिइसकेको छ।
नेपालमा अहिले प्रयोग भइरहेको कोभिसिल्ड खोपको प्रभावकारीता ७१ प्रतिशत रहेको डा उप्रेतीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले खोपको सही प्रयोग बढाउन खोप दिन मिल्ने र नमिल्ने अवस्था पनि निर्धारण गरेको छ।
यस्ता अवस्थामा कोभिसिल्ड खोप दिन मिल्छ :
–पहिला कोभिड–१९ संक्रमण भएका व्यक्तिहरुलाई संक्रमण भएको एक महिनापछि खोप लगाउन मिल्छ।
–दीर्घ रोग जस्तै मुटु, मस्तिष्क, फोक्सो, मिर्गौला रोग र क्यान्सर रोग भएका व्यक्तिहरु।
–रोग प्रतिरक्षा कमी वा एचआईभि भएका व्यक्ति,
रोग प्रतिरोधात्मक औक्षधि सेवा गरिरहेका बिरामीहरुलाई पनि खोप दिन मिल्छ। तर, यस्ता बिरामीहरुमा तुलनात्मक रुपमा प्रतिरक्षा शक्ति कम प्रदान गर्न सक्छ।
–बालबालिकालाई स्तनपान गराइरहेका आमाहरुलाई पनि यो खोप दिन मिल्छ।
खोप दिनै नमिल्ने अवस्था
-१८ वर्ष मुनिका बालबालिकामा यो खोपको सुरक्षा र प्रभावकारीताबारे अध्ययन नभएकाले यो खोप १८ वर्षमुनिका बालबालिकालाई नदिने निर्णय भएको छ।
-खोपको पहिलो डोज लगाउँदा गम्भीर एलर्जी अर्थात् एनाफाइलेक्सिस भएका व्यक्तिले पनि खोपको दोस्रो डोज लगाउन हुँदैन।
-यसभन्दा अघि अरु कुनै खोप, तथा इन्जेक्सन थेरापी वा औषधिले गम्भीर एलर्जी भएको अर्थात एनाफाइलेक्सिस् प्रतिक्रिया भएका व्यक्तिमा पनि खोप दिनु हुँदैन।
-गर्भवती महिलालाई पनि यो खोप दिनु हुँदैन।
खोप लगाएपछि हुनसक्ने असर
सामान्य असर
–सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने,
–थकाई र आलस्य महसुस हुने,
–ज्वरो आउने, टाउको दुख्ने,
–वाकवाकी हुने वान्ता आउने,
– माशंपेसी वा जोर्नी दुख्ने,
–फ्लुको जस्तो लक्षण देखिने।
यस्ता सामान्य किसिमका असरहरुले खोप लिने व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पार्दैनन्। यो बिस्तारै आफै कम भएर जान्छ।
खोपबाट हुनसक्ने गम्भीर असर
–सबै खोपहरु सुरक्षित हुन्छन् तर, खोपबाट कोही व्यक्तिमा एनाफाईलाक्सिस हुनसक्छ।
यो गम्भीर प्रकारको असर हो जसलाई एलर्जीको प्रतिक्रिया पनि भनिन्छ। यस प्रकारको असर देखा परेमा तत्कालै उपचार र व्यवस्थापन गर्नुपर्छ। यस्तो असर खोप लगाएको आधी घण्टासम्ममा देखिने सम्भावना हुन्छ। त्यसैले खोप लगाइसकेपछि खोप लगाएका व्यक्तिहरुलाई आधी घण्टा खोपकेन्द्रमा अब्जरभेसनमा राख्ने गरिन्छ।
पहिलो प्राथमिकतामा खोप लगाएकाहरुमा कतिमा कस्तो लक्षण देखियो ?
कोभिड–१९ कोप विज्ञ सल्लाहकार समितिका संगोजक डा श्याम राज उप्रेती अनुसार पहिलो प्राथमिकतामा खोप लगाएका ४ लाख २९ हजार ७०५ जनामध्ये १ हजार ९११ जनालाई सामान्य लक्षण देखिएको थियो भने ९ जनालाई गम्भीर प्रकारका लक्षण देखिएको थियो। तर, गम्भीर असर देखिएका सबैको स्वास्थ्य अवस्था हाल समान्य भइसकेको डा उप्रेतीको भनाइ छ।
आगामी फागुन २३ गतेदेखि ५५ वर्ष माथिका नागरिक तथा दीर्घरोगका बिरामीहरुलाई खोप लगाउन लागिएकाले खोपबाट हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनको लागि स्वास्थ्य मन्त्रालयले सम्पूर्ण तयारी गरिसकेको जनाएको छ।