सुन तस्करीका फरार एयरपोर्टबाटै दुबई ओहोरदोहोर : कर्मचारीको मिलेमतो

काठमाडौं । चार वर्ष अघि ३३ किलो ५७७.४० ग्राम सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बरामद गरेको थियो । २०७३ पुस २१ गते उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पार भइसकेपछि बरामद भएको थियो । भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव, एयरपोर्ट प्रहरीका एसपी श्याम खत्री, पूर्व एसएसपी रविराज श्रेष्ठ, करारका एक्सरे कर्मचारी राजकुमार ढकाललगायतसँग सेटिङ गरी वर्षाैंदेखि दुबईबाट नेपालमा सुन तस्करी हुँदै आएको थियो । सीआईबीले उक्त सुन बरामद गरेपछि तस्करी नाइके रोशन भुसाल भनिने गुप्तलाल भुसाल र हरिशरण खड्का रहेको खुल्यो ।

प्रहरीले गोपाल शाहीलगायतका भरियालाई मात्र नियन्त्रणमा लिएको थियो । मुख्य नाइके भुसाल र खड्का भएको खुलेपछि सीआईबीले उनीहरूकाविरुद्ध रेडकर्नर नोटिस जारी ग¥यो । पक्राउ परेका गोपाल शाहीले आफुले यसअघि धेरै पटक सुन ओसारपसार गरेको स्वीकार गरे । त्यसबाट पनि नेपालमा भुसाल र खड्काले वर्षाैंदेखि सुन तस्करी गरेको कुरालाई पुष्टि गर्दछ । रेड कर्नर नोटिस जारी गरेपछि सुन तस्करीका मुख्य नाइके मध्येका एक हरिशरण खड्का २०७५ माघमा दुबईमा पक्राउ परे । तर गुप्तलाल भुसाल भने नेपालका तत्कालीन प्रहरी प्रमुख प्रकाश अर्यालसँग सेटिङ गरी अदालतमा हाजिर हुने चाँजोपाँजो मिलाए । प्रहरीको सहयोगमा उनी अदालतमा हाजिर भए, थुनामा बस्नु परेन ।

तत्कालीन सीआईबीका डीआईजी नवराज सिलवालले उनलाई रेडकर्नर नोटिस जारी गरेका थिए । उनलाई आईजीपी हुन नदिएर नेपाल प्रहरीको महानिरीक्षक भएका प्रकाश अर्यालले सुन तस्कर भुसालसँग ठूलो रकम लाभ लिई उनलाई नेपालमा आउने र अदालतमा हाजिर हुने व्यवस्था मिलाइदिएको आरोप समेत लाग्यो । पछि भुुसालले सेटिङका आधारमा सुन तस्करीको मुद्दा धकेल्दै आएको श्रोत बताउँछ ।

फरार अभियुक्त कसरी गर्छन्
दुबई–काठमाडौं ओहोरदोहोर

श्रोतका अनुसार, कानुनको दृष्टिमा फरार रहेका अभियुक्त गुप्तलाल भुसाल पटक पटक नेपाल र दुबई ओहोरदोहोर गर्ने गर्दछन् । कानुनीरुपमा सबै प्रक्रिया पूरा गरेर जाने नेपालीलाई भिसाको साइज सानो भएको भनेर फर्काउने अध्यागमनका कर्मचारीले फरार अभियुक्त भुसाललाई पटक पटक दुबई जान छुट दिँदै आएको श्रोत बताउछ । हालसालै पनि भुसाल त्रिभुवन विमानस्थलबाट दुबई गएका छन् । भुसालले नेपालमा राजनीतिक संक्रमणको मौका छोपेर फेरि सुन तस्करी सुरु गरेको सुरक्षा श्रोतको दावी छ । केही दिन अगाडि विमानस्थलमा बरामद भएको सुन पनि भुसालकै गु्रपको भएको प्रहरीले आशंक गरेको छ ।

भुसालले ३३ किलो सुन र सनम शाक्य हत्याका योजनाकार चुडामणि उप्रेती ‘गोरे’ ग्याङका कृष्ण अग्रवाललाई साझेदार बनाएर नेपालमा सुन तस्करीको धन्दा सुरु गरेको श्रोत बताउँछ । भुसालले सुन तस्करीबाट अर्बाैं सम्पत्ति आर्जन गरेको तथ्य फेला परेको छ । १७ वर्ष अगाडि काठमाडौंमा टेम्पो चलाउने भुसाल आज अर्बाैंका मालिक कसरी बने ? सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस बारेमा अनुसन्धान गरिरहेको जानकारी हुन आएको छ । उनको दुबईमा क्लबदेखि ज्वेलरी सप र नेपालमा थुप्रै स्थानमा घरजग्गादेखि कम्प्लेक्स समेत रहेका छन् ।

श्रोतका अनुसार, भुसालका दुबईमा नौ वटा कम्पनी सञ्चालनमा रहेका छन् । उनले लण्डनमा बस्ने साला कृष्णप्रसाद थपलियाका नाममा दुबईमा याक एण्ड यति दोहोरी सञ्चालन गरिरहेका छन् । उक्त दोहोरीमा सुन तस्करीका पार्टनर कृष्ण अग्रवाल पनि छन् । उक्त दोहोरीमा नविन पाठकसमेत पाटर्नर छन् । उनी पनि भुसालकै नातेदार हुन् । कृष्ण अग्रवाल र भुसालका नाममा माउन्ट एभरेष्ट ज्वेलर्स छ । जुन ज्वेलर्सबाट अवैध सुन तस्करी र हुन्डीको कारोबार हुँदै आएको छ । भुसालको याक एण्ड यति नेप्लिज कुजिन रेस्टुरेन्ट पनि सञ्चालनमा छ । सुन तस्करीकै धनले भुसालले हालै याक एण्ड यति क्लब पनि सुरु गरेका छन् ।

उनले सुन तस्करीबाट काठमाडौंका धेरै ठाउँमा घरजग्गा जोडेका छन् भने काठमाडौंको सामाखुसीस्थित टोखा रोडमा भव्य व्यापारिक कम्प्लेक्स निर्माण गरिरहेका छन् । साविक गोंगबु गाविस–५ क कित्ता नं. २४९ को ३ रोपनी ८ आना ३ पैसा जग्गामा उनको शानदार कम्प्लेक्स निर्माण भइरहेको छ । गेम्जो गुरुङकी श्रीमती डोल्मा गुरुङको नाममा रहेको उक्त जग्गा खरिद गरी भुसालले कम्प्लेक्स निर्माण गरिरहेका छन् । उक्त कम्प्लेक्सको बारेमा पनि सम्पत्ति शुद्धीकरणले खोजी सुरु गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्र बैंकलाई २०७५ असार २९ मा नेपाल राष्ट्र बैंकसँग गुप्तलाल भुसालसहितका आरोपीहरूको बैंकमा रहेको विवरण माग गरेको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका सिलसिलामा रहेका भुसाललगायतका व्यक्तिहरूको सबै प्रकारका खाताहरू, एलसी (लेटर अफ क्रेडिट), कारोबारसमेतका विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई अनुरोध गरेको थियो ।

भुसालले अदालत मात्र होइन, सम्पत्ति शुद्धीकरणसमेत सेटिङ गरी मिलाउने प्रयत्न गरेको बुझिएको छ । सम्पत्ति शुद्धीकरण विभागका प्रवक्ता सुशील आचार्यले भुसाललगायतको सुन तस्करीसँग जोडिएका व्यक्तिहरूको अनुसन्धान भइरहेको प्रतिक्रिया दिँदै यस विषयमा केही बोल्न नमिल्ने बताए ।

सीआईबीले ३३ किलो सुन प्रकरणमा सुन तस्कर भुसालसहितका व्यक्तिविरुद्ध संगठित अपराधमा मुद्दा चलाएको थियो । तस्करीमा संलग्नहरूको सम्पत्ति विवरण संकलन गरेको थियो । त्यसमा भुसालको सम्पत्ति अस्वभाविक देखिएकाले छानबिनका लागि सम्पत्ति शुद्धिकरणमा पठाइएको थियो ।

गोरेसँग जोडिएका अग्रवाल भुसालका पार्टनर
गुप्तलाल भुसाल, हरिशरण खड्का, कृष्ण अग्रवाल र चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले दुबईबाट नेपालमा सुन तस्करी गर्ने गरेको खुलेको छ । सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरणमा सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको ७१५ पृष्ठको प्रधानमन्त्री कार्यालयको दराजमा थन्किएको प्रतिवेदनमा कृष्ण अग्रवालको नाम पनि रहेको श्रोत बताउछ । अग्रवाल र भुसाल व्यापारिक साझेदार भएकाले पनि गोरे र भुसालको संलग्नतालाई पुष्टि गर्दछ । सनम शाक्य हत्या र ३३ किलो सुन तस्करीमा कृष्ण अग्रवाललाई पनि प्रहरीले पक्राउको सूचीमा राखेको थियो । साँघु

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..