काठमाडौं । अहिले रोजगारी गुमाएका सयौं मजदुरको अवस्था कारुणीक छ । केन्द्रीय तथ्याङ्क विभागको गत वैशाखमा सार्वजनिक गरेको नेपालको श्रमशक्ति सर्वेक्षणअनुसार १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार छ ।
त्यसमध्ये ७० लाख ८६ हजार जनसङ्ख्या रोजगारीको क्षेत्रमा संलग्न देखिन्छ । त्यसमा पनि १५ प्रतिशत अर्थात् १० लाख ९१ हजार २ सय ४४ जना सङ्गठित क्षेत्रमा कार्यरत मजदुरहरू रहेका छन् भने बाँकी ८४ दशमल ६ प्रतिशत जनसङ्ख्या असंगठित क्षेत्रमा काम गर्छन ।


कोरोना संक्रमण तथा निषेधाज्ञा र लकडाउनपछि करिब ६० लाख मजदुरले रोजगारी गुमाएको विभिन्न अध्ययनले देखाएको छ । रोजगारी गुमाउनेमा इटा भट्टा, घर, सडक जस्ता भौतिक संरचना निर्माण, होटल रेष्टुरेन्ट, तथा पर्यटन क्षेत्रमा काम गर्ने मजदुर अत्याधिक रहेका छन् ।
ग्रामीण क्षेत्रबाट सहरमा मजदुरी गर्न छिरेका कैयौँ मजदुरहरू ५/६ दिनसम्म पैदल हिँडेर घर फर्केका संवेदनायुक्त दृष्यहरुले पनि मजदुरको अवस्थालाई चित्रण गर्छ ।
लकडाउनपछि सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने करिब २१ लाख जनसंख्या पनि बेरोजगार भएको थिए, भने अहिले सार्वजनिक यातायात सञ्चालनमा आएपछि उनीहरुलाई केही राहत भएको छ ।
साना तथा ठूला उद्योग तथा कलकारखानामा काम गर्ने करिब २ लाख कामदार पनि काम ठप्प भएपश्चात् रोजगारी विहीन भएका थिए । कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको छ ।
संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर फैलिएको कोरोना महामारीका कारण ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको हो ।
आईएलओका अनुसार विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका छन् । महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्ने गर्छन् ।
उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पु¥याएको आइएलओले जनाएको छ । अनौपचारिक क्षेत्रका कामदारसँग वैकल्पिक आय गर्ने अन्य माध्यम नहुने भएकाले ती कामदार र तिनमा आश्रित परिवारको बाँच्ने आधार नै गुमेको छ ।
विश्वमा अहिले पारिश्रमिक न्यून हुने र रोजगारीको कुनै सुरक्षा नभएका होलसेल र रिटेल व्यापारको क्षेत्रमा ४८ करोड २० लाख मानिस काम गर्छन् ।
त्यसैगरी, म्यानुफ्याक्चरिङमा ४६ करोड ३० लाख कामदार छन् भने यातायात, स्टोरेज र सञ्चार उद्योगमा काम गर्नेको संख्या २० करोड ४० लाख छ । अनौपचारिक क्षेत्रका दुई अर्ब कामदारमध्ये अधिकांश उदीयमान एवं विकासशील मुलुकका हुन् ।
श्रमबजारमा अनौपचारिक क्षेत्रको हिस्सेदारी ९० प्रतिशतभन्दा धेरै भएको भारत र नेपाल जस्ता मुलुक सबै भन्दा बढी प्रभावित छन् । भौगोलिक हिसाबले हेर्ने हो भने अफ्रिका र ल्याटिन अमेरिकाको कामदारको आय सबैभन्दा बढी ८१ प्रतिशतले घटेको छ ।
त्यसैगरी, युरोप र मध्यएसियामा ७० प्रतिशत घटेको छ । सबैभन्दा कम एसिया प्रशान्त क्षेत्रमा अनौपचारिक क्षेत्रका कामदारको २० प्रतिशत आम्दानी घटेको छ ।
तर अहिले नेपाल कोराना महामारीकै वीच आर्थिक मन्दी र मजदुरहरुको अवस्था जर्जर बनेपछि सरकारले सर्वजनिक यातायात होलट पसल र बजार खुल्ला गरेको छ भने उद्योग कलकाखना समेत सञ्चालन हुँने थालेको छन् । यसले केही मजदुरहरुलाई राहत दिएको छ ।
तर पूर्ण रुपमा उद्योग कलकारखना सञ्चालन नहुँदा सबै मजदुरुहरु रोजगारीमा र्फकन सकेका छैनन् ।